close

आफ्ना ११८ एपमाथि प्रतिबन्ध लगाउने भारतको कदमप्रति चीनको कडा आपत्ति

टेकपाना टेकपाना

भदौ २०, २०७७ २१:१

आफ्ना ११८ एपमाथि प्रतिबन्ध लगाउने भारतको कदमप्रति चीनको कडा आपत्ति

काठमाडौं । आफ्नो देशका ११८ एपमाथि भारतले प्रतिबन्ध लगाएपछि चिनले कडा आपत्ति जनाएको छ । चीनको सरकारी अखबार ग्लोबल टाइम्सका अनुसार वाणिज्य मन्त्रालयका प्रवक्ता गाव फ्याङले शुक्रबार आयोजित एक प्रेस ब्रिफिङमा गम्भीर चाँसो व्यक्त गरेका हुन् । 

उनका अनुसार राष्ट्रिय सुरक्षाको मामिलामा भारतले दुर्व्यवहार गरिरहेको छ र भारतको यो कदमले विश्व व्यापार संगठन (डब्लूटीओ) को नियमको उलंघन गरेको छ । ‘चीनले आफ्ना कम्पनीहरुलाई अन्तर्राष्ट्रिय नियम र स्थानीय कानूनको पालना गर्न भन्दै आएको छ,’

प्रवक्ता गाउ फाङले भनेका छन्, ‘प्रतिबन्धले चिनियाँ लगानीकर्ता र सेवाप्रदायकको कानूनी अधिकार र हीतको मात्र उलंघन गरेको छैन, यसबाट भारतीय उपभोक्ताको हीतमा समेत क्षति पुर्‍याएको छ र भारतमा खुल्ला अर्थव्यवस्थामा लगानी गर्ने विषयमा समेत असर पारेको छ ।’ चीनले भारत सरकारलाई तत्काल आफ्नो गल्ति सच्याउन आग्रह समेत गरेको छ ।

प्रवक्ताले अगाडि भनेका छन्, ‘हामी आशा गर्छौं कि भारतीय पक्ष चिनियाँ पक्षसँग मिलेर दुवै देशबीच निकै मेहनतपूर्वक हासिल गरिएको सहयोग र विकासलाई जारी राख्नेछ । ता कि खुल्ला र निष्पक्ष रुपमा व्यवसायको यस्तो माहोल बन्न सकोस्, जसमा अन्तर्राष्ट्रिय लगानीकर्ता र सेवादाता कम्पनीहरु आउन सकुन् । जसमा चिनियाँ कम्पनी समेत सामेल होउन् ।’ 

भारतले बुधबार चीनमा विकसित ११८ एपमाथि प्रतिबन्ध लगाएको थियो । जसमा चर्चित गेमिङ एप पब्जी समेत रहेको छ । इलेक्ट्रोनिक एण्ड टेक्नोलोजी मन्त्रालयको तर्फबाट जारी गरिएको एक विज्ञप्तिमा भनिएको छ, ‘भारतको संप्रभुता एवम् अखण्डता, देशको रक्षा र लोक व्यवस्था विरुद्धको गतिविधिमा संलग्न रहेको पाइएपछि यी एपमाथि यसप्रकारको प्रतिबन्ध लगाइएको हो ।

यस कदमबाट भारतका करोडौं मोबाइल र इन्टरनेट प्रयोगकर्ताको हीतको रक्षा हुनेछ । यो फैसला भारतको साइबर स्पेसको सुरक्षा र संप्रभुता सुनिश्चित गर्ने अभिप्रायका साथ लिइएको हो ।’

विज्ञप्तिअनुसार भारत सरकारलाई यी एपको बारेमा विभिन्न स्रोतबाट यस किसिमको जानकारी प्राप्त भइरहेको थियो । जसमा यस्तो रिपोर्ट समेत थियो, एण्ड्रोइड तथा आईओएसमा उपलब्ध केही मोबाइल एपले प्रयोगकर्ताको डेटा गैरकानूनी रुपमा भारतभन्दा बाहिर स्थित सर्भरमा पठाइरहेका थिए । 

भारतले यस अघि समेत चीनसँग सम्बन्ध राख्ने ५९ वटा एपमाथि प्रतिबन्ध लगाएको थियो । जसमा टिकटक समेत रहेको थियो । १५ जुनमा भारत र चीनबीच गलवान घाटीमा भएको हिंस्रक झडपको केही दिन लगत्तै भारतले उक्त निर्णय लिएको थियो । झडपको क्रममा २० भारतीय सैनिकको मृत्यु भएको थियो । 

चिनियाँ पक्षतर्फ समेत क्षति भएको बताइए पनि उसले अझसम्म त्यसको कुनै विवरण बाहिर ल्याएको छैन । त्यसपश्चात पनि भारतले थप ४७ एपमाथि प्रतिबन्ध लगाएको थियो । यसप्रकार भारतले हालसम्म कूल २२४ वटा चिनियाँ एपमाथि प्रतिबन्ध लगाइसकेको छ । 

चीनका ११८ एपमाथि प्रतिबन्ध लगाउने ताजा फैसला यस्तो समयमा लिइएको छ, भारत र चीनबीच लद्दाखमा वास्तविक नियन्त्रण रेखा अर्थात एलओसीमा तनाव उत्पन्न भएको खबर आइरहेका छन् । 

भारतले गलवान घाटीमा उत्पन्न तनावका बीच चीनले फेरी पुनः लद्दाखमा एलओसी उलंघन गर्ने कोसिस गरेको आरोप लगाउँदै त्यसलाई असफल तुल्याइएको बताएको छ ।


मंगलबार  भारतका विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले चीनले २९ र ३० अगस्ट राती पेङ्गोङ लेकको दक्षिणी क्षेत्रमा भड्काउ प्रयास गर्दै यथास्थितिलाई बदल्ने खोजेको बताएका थिए । त्यसको भोलिपल्ट समेत त्यस्तै किसिमको प्रयास भए पनि दुवै प्रयासलाई बिफल तुल्याइएको उनको भनाई थियो । 

यद्यपी यसलाई अस्वीकार गर्दै मंगलबार नै चीनले भारतलाई उक्साहटपूर्ण गतिविधि बन्द गर्न र एलओसीको उलंघन गर्ने आफ्ना सैनिकलाई फिर्ता बोलाउन चेतावनी दिएको छ ।

हालै अमेरिकाले समेत चिनियाँ केही एपमाथि प्रतिबन्ध लगाएको थियो । ट्रम्प प्रशासनले आफ्ना अमेरकी कम्पनीलाई आदेश दिँदै चिनियाँ टेन्सेन्ट कम्पनीको वीच्याटसँग कारोबार नगर्न भनेको छ ।

ह्वाइट हाउसका वाणिज्य सल्लाहकार पिटर नवारोले चीनका अन्य एपमाथि समेत प्रतिबन्ध लगाउने विषयमा विचार भइरहेको बताएका छन् ।

एजेन्सीको सहयोगमा । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०