close

अब गुगलले नै बताइदिनेछ परिचय सहित फोन गर्नुको कारण

टेकपाना टेकपाना

भदौ २४, २०७७ २२:५

अब गुगलले नै बताइदिनेछ परिचय सहित फोन गर्नुको कारण

काठमाडौं । सर्च इन्जिन कम्पनी गुगलले भेरिफाइड कल फिचर सार्वजनिक गरेको छ । गुगल फोन एपको अंगको रुपमा आएको यो फिचरले प्रयोगकर्तालाई कसले फोन गरिरहेको छ भन्ने कुराको जानकारी अगाडि नै दिनेछ ।

यति मात्र होइन कल गर्नुको कारण समेत गुगलले नै बताउने दाबी गरिएको छ । फोन कलबाट भइरहेको ठगीलाई रोक्नका लागि समेत गुगलले यो फिचर ल्याएको हो ।

अहिले प्रयोगकर्ताहरुले मोबाइलमा सेभ नभएका नम्बरहरु पहिचान गर्न ट्रू लर एपको सहारा लिँदै आएका छन् । गुगलले ल्याएको नयाँ फिचरले अब सोझै ट्रू कलरसँग प्रतिस्पर्धा गर्नसक्ने आँकलन गरिएको छ ।

गुगलले आफ्नो ब्लगपोस्टमा पाइलट प्रोग्रामको सुरुवाती नतिजा निकै उत्साहप्रद रहेको उल्लेख गरेको छ । गुगलको पिक्सेल सिरिजका मोबाइलसँगै अन्य इन्ड्रोइड फोनमा गुगल फोन बाइ डिफल्ट रुपमा काम गर्नेछ ।

यस अघि गत डिसेम्बरमा गुगलले आफ्नो म्यासेजेज एपमा नयाँ भेरिफाइड एसएमएस फिचर समावेश गरेको थियो । जसले प्रयोगकर्तालाई सुरक्षित म्यासेजको अनुभव दिनेगरेको छ । कम्पनीले अहिले फोन एपमा ल्याउन लागेको फिचरलाई समेत त्यस अनुरुप भेरिफाइड कलको रुपमा ल्याइएको हो ।

यो फिचरले कल गर्ने व्यक्तिको नाम, लोगो, कल गर्नुको कारण र आधिकारिक बिजनेसको भेरिफाइड ब्याच समेत देखाउनेछ । गुगलले यसले कुनै पनि व्यक्तिगत पहिचानसँग सम्बन्धित जानकारी कसैसँग शेयर नगर्ने र व्यवसायहरुलाई उनीहरुको डेटा निजी जानकारीको रुपमा रहेको सुनिश्चितता गर्ने बताएको छ ।

बिजनेस कल अगाडि यसले कल गर्नेको फोन नम्बर, तपाईंको फोन नम्बर र कल गर्नुको कारण गुगलको भेरिफाइड कल सर्भरमा पठाउने गर्छ । त्यसपछि गुगलले ती सबै जानकारी तपाईंको फोन एपमा पठाउनेछ ।

जब कुनै बिजनेसबाट तपाईंलाई कल आउँछ, तपाईंको मोबाइलले गुगल सर्भरबाट प्राप्त जानकारीसँग तुलना गर्नेछ । यदि त्यस्तो जानकारी मिलेको खण्डमा कल गर्ने नम्बरमा भेरिफाइड ब्याच देखिनेछ ।

भेरिफिकेसन भएको एक मिनेटभित्रै प्रयोगकर्ताको फोन नम्बर र कल गर्नुको कारण सर्भरबाट डिलिट गरिने गुगलको दाबी छ । यो भेरिफाइड कल सुरुवाती तवरमा ब्राजिल, भारत, मेक्सिको, स्पेन र अमेरिकामा उपलब्ध हुनेछ ।

निकट भविष्यमै नेपाल लगायतका अन्य देशहरुमा समेत उपलब्ध हुने आशा गरिएको छ । कम्पनीले एक सातापछि आफ्नो गुगल फोन एप पिक्सेल बाहेकका मोबाइलमा समेत डाउनलोड गर्न सकिने गरी उपलब्ध हुने जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०