close

विदेशमा कमाएको पैसा मोबाइलबाटै आफन्तलाई पठाउन सकिने

टेकपाना टेकपाना

असोज ६, २०७७ ८:५९

विदेशमा कमाएको पैसा मोबाइलबाटै आफन्तलाई पठाउन सकिने

काठमाडाैं । वैदेशिक रोजगारीमा रहेका नेपालीले मोबाइलबाटै आफूले कमाएको रकम आफन्तलाई पठाउन पाउने भएका छन् । नेपालका रेमिट्यान्स कम्पनीहरुले डिजिटल माध्यमबाट रकम भित्रयाउन सक्ने व्यवस्था गरेसँगै अब याे सुविधाकाे सुरूवात भएकाे हाे ।

याे व्यवस्था अन्तर्गत राष्ट्र बैंकबाट अनुमति लिएर नेपालमा सञ्चालन भइरहेका  बैंक तथा वित्तीय संस्था तथा बिप्रेषण प्रदायक कम्पनीहरुले विदेशका भुक्तानी प्रदायक संस्थासँग सहकार्य गर्नेछन् ।

ती संस्थाहरुले नेपालमा सञ्चालनमा रहेका भुक्तानी सेवा प्रदायक संस्थासँग आबद्ध भई मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, डिजिटल वालेटमार्फत स्वदेशी मुद्रामा भुक्तानी प्रदान गर्नेछन् ।

राष्ट्र बैंकको विप्रेषण विनियामावली २०७६ को साविकका व्यवस्थाका साथमा अतिरिक्त तोकिएको सर्त र सीमासहित सम्झौता गरी विद्युतीय माध्यमबाट नेपालमा रकम पठाउन सक्ने व्यवस्था गरिएको हो ।

यसैबीच नेपाल राष्ट्र बैंकले अनलाइन कारोबार गरेबापत विदेशबाट भित्रिने मुद्रा नेपालका बैंकको खातामा रकमान्तर हुने व्यवस्था समेत ल्याएको छ ।

याे व्यवस्थाले विदेशी रकमलाई नेपालीमा रकमान्तर गर्न सघाउ पुग्ने विश्वास गरिएकाे छ । हुण्डी र अन्य अनाधिकृत माध्यमबाट आउने रकमले अहिले ठूलाे समस्या सिर्जना गरेकाे छ ।

बैंककाे सूचना अनुसार सूचना प्रविधि सम्बद्ध दक्षता/विज्ञताको निकासी बिक्री वापत प्राप्त हुने रकम, सामाजिक सञ्जालमा सामाग्रीहरु राखिएवापत प्राप्त हुने रकम तथा खुद्रास्तरको अन्तर्राष्ट्रिय व्यावसायिक/व्यापारिक कारोबार बापत प्राप्त हुने रकम बैंकिङ प्रणालीबाट ल्याउने व्यवस्था भएकाे छ ।

याे व्यवस्थाले युट्युबलगायत सामाजिक सञ्जाल, अनलाइन कमर्स, सफ्टवेयर खरिदबिक्री आदिबाट हुने आम्दानीलाई बैंकिङ प्रणालीमा ल्याएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०