काठमाडौं । विश्वभर सर्च इन्जिनको रुपमा परिचित गुगलको आज २२ औं जन्मदिन । आफ्नो विशेष दिनमा गुगलले खास किसिमको डुडल बनाएको छ ।
झट्ट हेर्दा गुगलको यो डुडल सन् १९९० को दशकको कुनै जन्मोत्सवको झल्को दिने किसिमको छ । डुडलमा गुगलका सबै अल्फाबेटलाई समेटिएको छ ।
जसमा गुगलको पहिलो अक्षरलाई एउटा ल्यापटपको स्क्रिनको अगाडि र बाँकी पाँच अक्षरलाई एउटा फ्रेममा देखाइएको छ । सर्च इन्जिन गुगलको सुरुवात सन् १९९८ सालमा भएको थियो ।
अमेरिकाको क्यालिफोर्नियाँ स्थित स्ट्यानफोर्ड युनिभर्सिटीमा पीएचडी गरिरहेका दुई जना छात्र ल्यारी पेज र सेर्गेइ ब्रिनले यसको विकास गरेका थिए । ल्यारी पेज र सेर्गेइ ब्रिनले गुगललाई औपचारिक रुपमा सार्वजनिक गर्नु अघि यसको नाम ब्याकरब राखेका थिए ।
समयसँगै यसको नाम गुगल रहन गयो । जसबाट अहिले विश्व नै त्यससँग परिचित बनेको छ । यसलाई विश्वभर इन्टरनेटमा रहेका हरेक किसिमका जानकारी शेयर गर्ने माध्यमको रुपमा विकास गरिएको थियो ।
वर्षौंसम्म गुगलको जन्मदिन फरक फरक तारिखमा मनाइँदै आएको थियो । गुगलको जन्मदिन सन् २००५ सालमा सेप्टेम्बर ७ तारिखमा मनाइएको थियो । त्यसपछि पनि गुगलको जन्मदिन ८ सेप्टेम्बर र २७ सेप्टेम्बरमा समेत मनाइयो ।
हालैका वर्षमा मात्र गुगले आफ्नो जन्मदिन २७ सेप्टेम्बरमा मनाउन सुरु गरेको छ । आजको समयमा गुगल विश्वरका खास खास अवसर तथा उत्सवहरुमा डुडलको माध्यमबाट सेलिब्रेट (मनाउने) गर्दै आएको छ ।
सन् १९९८ देखि गुगलले आफ्नो डुडल बनाउन सुरु गरेको थियो । गुगलले पहिलो डुडल बर्निङ म्यान फेस्टिबलको सम्मानमा बनाएको थियो । गुगलले विश्वभर सयभन्दा बढी भाषामा काम गरिरहेको छ । अल्फाबेट इंक गुगलको अभिभावक कम्पनी हो ।