close

नेपाली भूगोल र इतिहासमा आधारित एडभेन्चर गेम निर्माण गर्दै तीन युवा

टेकपाना टेकपाना

असोज १२, २०७७ २१:४४

नेपाली भूगोल र इतिहासमा आधारित एडभेन्चर गेम निर्माण गर्दै तीन युवा

तस्वीरमा बायाँबाट दायाँ क्रमशः पवन भण्डारी, प्रज्ज्वल श्रेष्ठ र नितेश पौडेल

काठमाडौं । जीटीए तथा एसासिन्स क्रिड जस्ता भिडियाे गेम खेल्दा विदेशी भर्चुअल भूगोलभित्र गेम खेल्नुपर्छ । नेपालमा बसेर नेपालकै भूगाेल र इतिहासमा आधारित कथामा गेम खेल्न पाए कस्ताे अनुभूति हाेला ?

गेम पारखीकाे याे चाहना मेट्न केही युवा लागिपरेका छन् । अहिले तीनजना युवाले नेपालको भूगोल र इतिहासमा आधारित ओपन वर्ल्ड एक्सन एण्ड एड्भेन्चर गेम बनाइरहेका छन् । 

याे गेम कान्तिपुर इन्जिनियरिङ कलेजमा स्नातक तह दोस्रो वर्ष अध्ययनरत पवन भण्डारी, नितेश पौडेल र प्रज्ज्वल श्रेष्ठले बनाइरहेका छन् । 

यो प्रोजेक्ट हाल सञ्चालन भइरहेको उद्यमी युवा च्यालेन्जको अन्तिम चरणमा पुग्न सफल भएको छ । च्यालेन्जमा ‘एक्सप्लोर नेपाल’ कोड नेमका साथ यसले प्रतिस्पर्धा गरिरहेकाे छ ।

यो गेमकाे नाम फाइनल भइसकेकाे छैन । तर याे एउटा ओपन वर्ल्ड एक्सन एण्ड एड्भेन्चर क्याटेगोरीको गेम हुनेछ ।

पब्जी, फ्रि फायर जस्ता मल्टिप्लेयर रोयल ब्याटल गेमभन्दा फरक र जीटीए र एसासिन्स क्रिड जस्तै अवधारणामा याे गेम बन्नेछ । 

गेमभित्र नेपालकै भूगोलहरु राखिएको डेभलपर टिमका एक सदस्य पवन भण्डारी बताउँछन् । साथै यो ‘स्टोरी ड्रिभन’ गेम भएको कारण यसभित्र नेपालका विभिन्न ऐतिहासिक घटनाका कथा र पात्रहरु हुने पनि उनले बताए । 

‘म सानोमा जीटीए खेल्ने गर्थें । त्यो बेलामा गेममा लस एन्जलस, न्युयोर्क तथा युरोपमा विभिन्न ठाउँहरु एक्सप्लोर गर्न पाइन्थ्यो । तब म नेपालका ठाउँहरु पनि एक्स्पोर गर्न पाए हुन्थ्यो भन्ने सोच्थें,’ पवन भन्छन्, ‘तर त्यस्तो गेम थिएनन् । गत वर्षचाहिँ हामीले आफूले खोजिरहेको अनुभव किन नबनाउने भनेर बनाउन थालेका हौं ।’

याे गेमभित्रको कथा र पात्रहरु नै नेपालको ऐतिहासिक घटनासँग जोडिएका छन् । तर यसमा समावेश गरिने घटना भने अहिलेसम्म फाइनलाइज नभइसकेको उनले बताए ।

काठमाडौंमा पृथ्वीनारायण शाहले आक्रमण गरेको घटनादेखि नयाँ पछिल्ला घटनाहरु पनि राख्ने तयारी गरिरहेको उनीहरुले बताए । तर अहिले गेम प्रारम्भिक विकास चरणमै रहेको उनले बताए । 

गेमको ६ महिनामा बेटा रिलिज गरी एक वर्षमा प्रि-अर्डरहरु लिएर २ वर्षमा गेम रिलिज गर्ने योजना रहेको पवनले सुनाए । 

साथै गेममा ऐतिहासिक लडाईको कुरा जोडिने हुँदा त्यसमा कसैको संवेदनामा ठेस नपुग्ने गरी कलात्मक ढंगले प्रस्तुत गर्ने पनि उनले बताए । 

त्यसो त यसअघि पनि नेपालमा क्रोनिकल अफ हिमालयज नामको यस्तै गेम बनिसकेको छ  । तर त्यसमा भने नेपालको भूगोल र संस्कृतिलाई जोडेर देखाइएको छ ।

त्यो एउटा १५ वर्षे शेर्पा युवाको कथामा आधारित छ, जो आफ्नो हराएको बुवा खोज्न सगरमाथा क्षेत्रको सहासिक यात्रा गर्दछ ।

तर नेपाल एक्सप्लोरमा भने विभिन्न किसिमका पात्र तथा लडाईका कथाहरु हुनेछन् । यसमा एक्लो खेलाडीले विभिन्न पात्रहरुको भूमिकामा खेल्न सक्छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०