काठमाडौं । भारतको केन्द्र सरकारले पाँच वर्षभित्र देशमै साढे १० लाख कराेड मूल्य बराबरकाे माेबाइल फाेन निर्माणका लागि घरेलु र अन्तर्राष्ट्रिय कम्पनीका १६ प्रस्ताव स्वीकृत गरेको छ ।
सरकारकाे उत्पादन प्रोत्साहन योजना अन्तर्गत मोबाइल फोन निर्माणका लागि भारतीय ११,००० करोडको लगानी गरिनेछ।
आत्मनिर्भर भारत अभियान अन्तर्गत विश्वप्रसिद्ध मोबाइल निर्माता कम्पनीहरुलाई देशमा भित्र्याउन यो योजना अघि सारिएको हो ।
प्रस्ताव स्वीकृत भएका कम्पनीहरूमा एप्पलकाे म्यानुफ्याक्चर पार्टनर फक्स कोन होन हाइ, विस्ट्रोन एण्ड पेगाट्रनका साथमा सामसङ र राइजिङ स्टार लगायत छन् ।
एप्पल र सामसङका साथै भारतीय कम्पनीहरूको प्रस्ताव पनि स्वीकृत भएको छ, जसमा लाभा, भगवती (माइक्रो म्याक्स), प्याड इलेक्ट्रोनिक्स (डिक्सन टेक्नोलोजी), यूटीएल नियोलिन्क्स ,अप्टिमस लगायत छन्।
‘एप्पल (३७ प्रतिशत) र सामसङ (२२ प्रतिशत) काे मात्रै विश्व बजारमा ६० प्रतिशत बजार छ । यस योजनाले देशमा उनीहरूको उत्पादन अझै धेरै गुणा बढ्ने अपेक्षा छ,’ सरकारी विज्ञप्तिमा भनिएको छ।
यो योजना अन्तर्गत कम्पनीहरूले आगामी पाँच बर्षमा २ लाखभन्दा बढी प्रत्यक्ष रोजगारी प्रदान गर्नेछन् । साथै अप्रत्यक्ष रूपमा यसकाे तीन गुणा बढी रोजगारी सिर्जना हुने अपेक्षा गरिएको छ।
भारत सरकारले मोबाइल फोनको उत्पादनमा ठूलो महत्वाकांक्षी योजना आरम्भ गरेको छ। यो योजना अप्रिल १ मा सुरू गरिएको थियो ।
भारतीय सरकारका अनुसार यस योजनाले देशमा लाखौं नयाँ रोजगारी सिर्जना मात्रै गर्दैन, अरबाैंको लगानी पनि ल्याउनेछ, जसले मेक इन इण्डिया, डिजिटल इण्डिया र आत्मनिर्भर भारत जस्ता योजनाहरूको उद्देश्य पुरा गर्नेछ।