close

‘लेट्स डु दिस ग्लोबल’ नेपालमा, स्थानीय स्टार्टअपलाई विश्वस्तरमा जान सघाउने

टेकपाना टेकपाना

असोज २३, २०७७ १९:३१

‘लेट्स डु दिस ग्लोबल’ नेपालमा, स्थानीय स्टार्टअपलाई विश्वस्तरमा जान सघाउने

काठमाडौं । लेट्स डु दिस ग्लोबलको शाखा नेपालमा सुरु भएको छ । ग्लोबल गो टु मार्केटमा कार्यरत प्रविधि विज्ञ शिव कँडेलले नेपाली स्टार्टअप तथा व्यवसायहरुलाई अन्तर्राष्ट्रिय स्तरमा जान सघाउने उद्देश्यका साथ कम्पनीलाई नेपाल भित्र्याएका हुन् । 

विविध क्षेत्रका विज्ञहरु रहेको कम्पनी लेट्स डु दिस ग्लोबलमा विभिन्न देशका कम्पनीहरु आवद्ध भएका छन् । जसले आफूसँग आवद्ध भएका स्टार्टअप तथा व्यवसायहरुको आवश्यकता विश्लेषण गरेर वृद्धि विकासमा सघाउँदै आएको छ ।

फण्डिङ चाहिन्छ वा अरु आवश्यकताको विश्लेषण गरेर आफूहरुले सहयोग उपलब्ध गराउने लेट्स डु दिस ग्लोबलका नेपाल स्थित कन्ट्री हेड रहेका कँडेलले जानकारी दिए । ‘कम्पनीहरुलाई हामीले भेञ्चर क्यापिटलबाट फण्ड जुटाइदिने काम पनि गर्दै आएका छौं,’ उनले भने ।  

वार्षिक एक करोड भन्दा कम आम्दानी भएका स्टार्टअपहरु, १० देखि १५ करोडको आम्दानी भएका तथा आम्दानी बढाउन खोजिरहेका कम्पनी र ५० करोडभन्दा माथिको आम्दानी गरिरहेका र अन्तर्राष्ट्रिय बजारमा जान चाहिरहेका कम्पनीहरुलाई लेट्स डु दिस ग्लोबलले लक्षित गरेको छ ।  

आफ्नो सहयोगमा वृद्धि भएको आम्दानीमा निश्चित शेयरमा कमिसन वापत लिने गरी कम्पनीले विभिन्न किसिमको सहयोग उपलब्ध गराउँदै आएको छ । वृद्धि भएको नाफा र वृद्धिदर, कम्पनीको प्रकृति आदि विविध पक्ष हेरेर आपसी समझदारीमै स्टार्टअप तथा कम्पनीहरुसँग सहकार्य गर्ने गरिएको कँडेलले बताए । 

लेट्स डु दिस ग्लोबलले विभिन्न देशका खाद्य तथा पेय पदार्थ, स्वास्थ्य सेवा, व्यक्तिगत हेरचाह, इलेक्ट्रनिक्स, गैर-नाफामुलक संघ संस्था, फिनटेक, फूड टेक जस्ता ब्राण्डसँग साझेदारी गरिसकेको छ । 

यो स्टार्टअप कम्पनीले विभिन्न उद्योग क्षेत्रबाट उत्कृष्टताको रुपमा मनोनयन गर्दै विगत छ महिनाको अवधिमा ५० भन्दा बढी व्यवसायलाई अन्य देशमा प्रवेश गराइसकेको कँडेलले बताए । 

यो सहकार्यबाट नेपाली स्टार्टअपहरुलाई मूख्यतः भारतमा आफ्नो सेवा विस्तार गर्न सहयोग पुग्ने उनको भनाई छ । नेपाली स्टार्ट अप कम्पनी यल्को र एक्लोले यो अलायन्सकै सहयोगमा भारतमा आफ्नो सेवा दिन समेत थालिसकेको छ । 

‘यसबाट नेपाली स्टार्टअप कम्पनीलाई भारतीय इकोसिस्टममा एक्सपोजरको अवसर मिल्नेछ,’ कँडेलले भने । कोरोना महामारीबीच भारतका प्रतीक गौरी र शैलेन्द्र दीक्षितले ‘लेटस डु दिस ग्लोबल’ नामक व्यवसायको सुरुवात गरेका हुन् ।

गौरी एक सामाजिक उद्यमी हुन् । उनले सन् २०१८ मा डेभोसमा आयोजित वर्ल्ड इकोनोमिक फोरम र न्युयोर्कमा संयुक्त राष्ट्र संघमा भारतको प्रतिनिधित्व समेत गरेका थिए । 

कम्पनीका अर्का सहसंस्थापक दीक्षित इन्डियन स्कूल अफ बिजिनेसका एलमनाई, मार्केटिङ विशेषज्ञ र भारतका एक उत्कृष्ट स्टोरीटेलर हुन् । गौरी र दीक्षित दुवैले संयुक्त रूपमा सुरु गरेको लेट्स डु दिस ग्लोबलको मूल उद्देश्य नै नयाँ स्टार्टअपहरूलाई प्रभावशाली रुपमा विकास गर्नु र त्यसको लाभ विश्व समुदायमा विस्तार गर्नु रहेको छ । 

भारतको फ्ल्यागशिप गो टु मार्केट इन्जिनले लेट्स डु दिस ग्लोबल’को रुपमा संसारभर विभिन्न अवसरहरू सिर्जना गर्ने बताइएको छ । जसमा विश्वसनीय व्यवसाय तथा पारिवारिक व्यवसायका प्रतिनिधि र विभिन्न देशका प्रतिष्ठित विज्ञहरु रहेका छन् ।

लाभ र प्रभावकोबीचबाट डिजाइन गरिएको लेट्स डु दिस ग्लोबलले नेपाल, भारत लगायत विश्वभरका सरोकारवालाहरूलाई आपसमा जोड्ने छ । 

फर्च्युन ५०० कम्पनी, करोडपती, सामाजिक उद्यमी तथा सरकारलाई सँगै ल्याएर नेपालको आर्थिक समृद्धिमा पाँचौं औद्योगिक क्रान्तिको लागि उत्पेरकको काम गर्ने उद्देश्यका साथ लेट्स डु दिस ग्लोबलको शाखा नेपालमा खोलिएको कम्पनीका कन्ट्री हेड कँडेलले बताए ।  

लेट्स डु दिस ग्लोबलले ग्लोबल ब्रान्डहरूजस्तै स्थानीय ब्रान्ड तथा उत्पादनलाई नागरिकहरुको दैनिक जीवनको हिस्सा बनाउन आवश्यक भूमिका खेल्ने उनको दाबी छ ।

लेट्स डु द ग्लोबलमा आवद्ध हुने स्टार्टअप तथा व्यवसायहरुले आफ्नो प्रडक्ट बेस, ब्यालेन्स शिट, व्यवसायको प्रकृति र आवश्यता आदि जस्ता सबैको विश्लेषण गर्ने गरिएको कम्पनीले जनाएको छ । ‘उनीहरुको दीर्घकालिन योजना हेरेर हामीले स्टार्टअप तथा कम्पनीहरुलाई आवद्ध गराउँदै आएका छौं,’ उनले भने ।’

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४