काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले स्याटेलाइटको लागि आवश्यक पर्ने फ्रिक्वेन्सी खुला गर्न सरकारलाई सिफारीस गरेको छ । स्याटेलाइटमार्फत ग्रामीण क्षेत्रमा तीव्र गतिको ब्रोडब्याण्ड इन्टरनेट पुर्याउने योजनाका साथ प्राधिकरणले यसलाई अघि बढाएको हो ।
यसको लागि प्राधिकरणले का–ब्याण्ड (Ka-Band) को नयाँ फ्रिक्वेन्सी खुला गर्न रेडियो फ्रिक्वेन्सी नीति निर्धारण समितिलाई सिफारिस गरेको प्राधिकरणका निर्देशक अम्बर स्थापितले बताएका छन् ।
‘प्राधिकरण बोर्डको निर्णय अनुसार नै यो प्रक्रिया अघि बढाइएको हो,’ उनले भने, ‘यस विषयमा प्राधिकरण बोर्डले असोज ५ गते नै निर्णय गरेको थियो । त्यसैका आधारमा अघिल्लो साता समितिमा पत्र पठाइएको हो ।’
विश्व परिवेशमा पनि का–ब्याण्डको फ्रिक्वेन्सी स्याटेलाइट प्रयोजनका लागि प्रयोग हुँदै आएको छ । त्यसै अनुरुप प्राधिकरणले उक्त ब्याण्डको फ्रिक्वेन्सी स्याटेलाइटको लागि छुट्याउने सिफारिस गरिएको निर्देशक स्थापितले बताएका छन् ।
उनका अनुसार १९.७ गीगाहर्जदेखि २१.२ गीगाहर्जसम्म १५०० मेगाहर्ज ब्याण्ड डाउनलिंकका लागि तथा २९.५ देखि ३१ गीगाहर्जसम्म अपलिंकका लागि छुट्याउन सिफारिस गरिएको छ ।
उनका अुसार यो ब्याण्डको फ्रिक्वेन्सी हाल विश्व परिवेशमा सुरु भएको नयाँ कनेक्टिभिटी फाइभजीका लागि पनि उपयोगी ब्याण्ड हो ।