काठमाडौं । मोबाइलको ब्याट्री सकिँदा कहाँ चार्ज गर्नुहुन्छ ? पक्कै पनि यूएसबी पोर्ट खोज्नुहुन्छ र चार्जिङ पोर्टमा जोड्नुहुन्छ ।
यस्तो पोर्ट बाथरुम, बसपार्क एयरपोर्ट जस्ता स्थानहरुमा सहजै फेला पार्न सकिन्छ । त्यसपछि तपाईं दायाँ बायाँ नसोचेरै आफ्नो मोबाइल चार्ज गर्नुहुन्छ ।
यदि यसै गर्नुहुन्छ भने सचेत रहन जरुरी छ । किनभने साइबर अपराधीहरुले तपाईंका संवेदनशील डेटालाई निशानामा पार्न सक्छन् र तपाईं ठगीमा पर्न सक्नुहुन्छ ।
साइबर अपराधीहरुले चार्जिङ पोर्टयुक्त बुथमा भाइरसयुक्त प्रोग्राम इन्स्टल गरिदिन्छन् । जसले प्रयोगकर्ताको फोन तथा अन्य डिभाइसमा पहुँच बनाउन सक्छ ।
जानकारहरुका अनुसार जुनसुकै स्थानमा मोबाइल वा ल्यापटप चार्ज गर्ने बानी तपाईंका लागि निकै महंगो पर्न सक्छ । साइबर अपराधीहरुले तपाईंको अकाउन्ट, पासपोर्ट, ठेगाना लगायतका व्यक्तिगत जानकारी यसबाट सहजै हात पार्न सक्छन् ।
यदि यसरी साइबर अपराधीले तपाईंको डिभाइसमा माल्वेर इन्स्टल गर्न सफल भएको खण्डमा तपाईंको फोन नै ब्लक हुन सक्छ ।
जोगिने कसरी ?
यदि तपाईंलाई यस किसिमको जोखिमबाट टाढा रहनु छ भने यूएसबी कन्डम तथा यूएसबी डेटा ब्लकर्स प्रयोग गर्न सक्नुहुन्छ । जुन तपाईंले बजारमा किन्न पाउनुहुन्छ ।
जुन कन्डम जस्तै उपयोगी र लाभदायक छ । जसले यूएसबीमार्फत हुन सक्ने डेटा चोरीको खतराबाट जोगाउने गर्दछ । यूएसबी कन्डम इनपुट र आउटपुट पोर्ट भएको एउटा सानो यूएसबी एडप्टर हो ।
जसले मोबाइल चार्जिङ गर्दाको दौरान डेटा चोरी हुनबाट रोक्ने गर्दछ । आईबीएमको साइबर सेक्युरिटी रिपोर्ट अनुसार भाइरसयुक्त सफ्टवेयरले तपाईंको फोन वा ल्यापटपको कम्प्युटिङ पावरलाई हाइज्याक गरिदिन्छ ।
परिणामस्वरुप तपाईंको मोबाइल वा ल्यापटपको प्रोसेसरको प्रयोग बढ्छ र डिभाइस स्लो र ह्याङ हुन थाल्छ । फोर्ब्स म्यागेजिनलाई दिएको एक अन्तर्वार्तामा साइबर सेक्युरिटी डिभिजनका क्यालेब बार्लोले बैंकिङ फ्रड रोक्नका लागि यूएसबी कन्डमको प्रयोगमा जोड दिएका थिए ।