काठमाडौं । विश्वको दोस्रो ठूलो स्मार्टफोन निर्माता हुवावे टेक्नोलोजीले शुक्रबार चीनमा बहुप्रतिक्षित फ्ल्यागशिप सिरिज ह्वावे मेट फाेर्टी सार्वजनिक गरेको छ ।
अमेरिकाले हाई-इन्ड चिपसेटमाथि लगाएको प्रतिबन्धका बाबजुद ह्वावेले आफ्नै चिपसेटका साथ अत्याधुनिक फिचर सहित यो सिरज सार्वजनिक गरेको छ । यसअन्तर्गत मेट फोर्टी, मेट फोर्टी प्राे र मेट फोर्टी प्लस रहेका छन् ।
ह्वावेकाे मेट फाेर्टीले हालै सार्वजनिक एप्पलकाे आईफोन ट्वेल्भसँग कडा प्रतिस्पर्धा गर्ने अनुमान गरिएकाे छ । पछिल्लो हाई-इन्ड स्मार्टफोन सिरिज हुवावे मेट फाेर्टी विश्वकै पहिलो नानोमिटर फाइभजी चिपसेटले सञ्चालित छ ।
ह्वावे कन्जुमर डिभिजनका सीईओ रिचार्ड यू चेङदोङले सांघाइमा आयोजित कार्यक्रममा आफ्नो कम्पनीले बनाएको प्रोसेसर एप्पलको ए १३ भन्दा ३० गुणा बढी प्रभावकारी रहेको दाबी गरे ।
किरिन ५ नानाेमिटर चिपसेट उत्पादनसँगै मेट फाेर्टी सिरिजबाट अमेरिकाले सुरू गरेकाे प्रविधि युद्धकाे जवाफ ह्वावेले राम्रैसँग फर्काएकाे छ ।
ट्रम्प प्रशासनले ग्लोबल चिप निर्माताहरुलाई सेमिकन्डक्टरहरुको बिक्रीमा रोक्दै आएको छ । यसले विश्व बजारमा ह्वावेकाे व्यवसाय खस्किनुका साथै हाई-इन्ड स्मार्टफोन बिक्री गर्नबाट ह्वावे रोकिने ट्रम्पकाे विश्वास थियाे ।
चीनमा यो ह्वावे मेट फाेर्टीको व्यापक बिक्री हुने अनुमान गरिएको छ । याे चाइनिज युआन सपोर्ट गर्ने विश्वकै पहिलो स्मार्टफोन हो ।
स्मार्टफोनमै ब्युल्ट इन हार्डवेयर वालेट सहितको हार्डवेयर-लेभल सेक्युरिटी क्यापेबिलिटी रहेको छ जसअन्तर्गत फोनमा इनक्रिप्टेड स्टोरेज छ ।
यो फिचरले चीनको डिजिटल मुद्रा विकासको योजनामा सहयोग पुग्ने बताइएको छ । यसमा अफलाइन कारोबार पनि गर्न सकिन्छ ।
चीनमा मेट फाेर्टी सिरिजकाे मूल्य ४,९९९ युआन (८९ हजार ५ सय रूपैयाँ) देखि ८,९९९ युआन (१ लाख ६१ हजार रूपैयाँसम्म) सम्म रहने बताइएकाे छ।