close

रकेट उडाउने प्रतिस्पर्धामा नेपाली टोली

टेकपाना टेकपाना

कात्तिक १६, २०७७ १३:३१

रकेट उडाउने प्रतिस्पर्धामा नेपाली टोली

काठमाडौैं । अमेरिकामा आयोजना हुन गइरहेको विश्वकै ठूलो रकेट इन्जिनियरिङ प्रतिस्पर्धा ‘स्पेसपोर्ट अमेरिका कप २०२१’ मा सहभागिताका लागि नेपाली रकेट ‘गरुडा’ चयन भएको छ ।

उक्त रकेट अन्तराष्ट्रिय संस्था स्टुडेन्ट फर द एक्सप्लोरेसन एण्ड डेभलपमेन्ट अफ स्पेस सेड्सको नेपाल च्याप्टर ओपन रकेरी एण्ड स्पेस सोसाइटी ओर्‍यासका विद्यार्थी टोलीहरुले बनाएका हुन् । 

काठमाडौं, पोखरा र पूर्वाञ्चल विश्वविद्यालयका इन्जिनियरिङ स्नातक तहका २० विद्यार्थीहरुको संयुक्त टोलीले तयार गरेको उक्त रकेटको निर्माण परियोजनाको डिजाइन सम्पन्न भइसकेको छ । 

तर आगामी जुलाईमा प्रस्तुत गर्नुपर्ने उक्त रकेटको निर्माण पाटो सम्पन्न गर्न विद्यार्थीहरुलाई १५ हजार अमेरिकी डलरको आवश्यकता परेको निर्माण टोलीकी एक सदस्य आश्विनी खरेलले बताइन् । 

‘हाम्रो प्रतिस्पर्धा जुलाईमा छ । सबै मापदण्ड पुरा गरेर यसको डिजाइन सब्मिट गरेपछि हामी प्रतिस्पर्धाका लागि चयन भएका छौं । तर अब यसको निर्माणका लागि पैसा चाहिएको छ, ’ उनले भनिन् ।

उनका अनुसार नेपालमा आवश्यक उपकरण नपाइने भएकाले विदेशबाट ल्याउन निर्माणटाेलीका लागि पैसा चाहिएको छ ।

९० इन्च लामो सोलिड साउण्डिङ गरुड रकेट अन्तराष्ट्रिय प्रतिस्पर्धाका लागि चयन भएको सम्भवत: पहिलो रकेट भएको आश्विनीले बताइन् ।

यस साउण्डिङ रकेट पृथ्वीको सतहभन्दा १० हजार किलोमिटर माथिसम्म उड्न सक्छ । यसमा चार केजीको पेलोड छ, जसमा टु यु क्युबस्याट पकेट स्याटजस्ता स्याटेलाइटलाई बोकेर लग्न सकिन्छ ।

ती स्याटेलाइटहरुलाई स्पेसमै छोडिदिए पछि त्यसले रिड गरेको डेटा पृथ्वीको ग्राउण्ड स्टेसनले लिन्छ । यसले एटमस्पेयरको ह्युमिडिटी, मौसम, पोल्युट्यान्ट सबै कुरा मापन गर्न सक्ने आश्विनीले बताइन् ।

आगामी नोभेम्बरको दोस्रो हप्तासम्म रकेट परियोजनाको दोस्रो मूल्यांकन हुने हुँदा आफूहरुले पीसीबी डिजाइन र एभोनिक्सको काम सकेर प्रस्तुत गर्नुपर्ने उनले बताइन् ।

यसैका लागि नोभेम्बरभित्रै पैसा आवश्यक पर्ने हुँदा अहिले टोलीले गोफण्ड मीमा आफ्नो प्रोजेक्टको क्राउण्ड फण्डिङ अभियान चलाउनुका साथै खल्ती मार्फत सहयोग संकलन अभियान सुरु गरिसकेको छ ।

इच्छुकहरुले ९८४१२५८२९८ नम्बरमा खल्ती तथा ईसेवामा सहयोग गर्न सक्ने छन् । हालसम्म विद्यार्थीहरुले गो फण्ड मीमा २२३ डलर रुपैयाँ संकलन गरेका छन् । 

दुई वर्षदेखि स्पेस तथा भूगर्वको क्षेत्रमा काम गरिरहेका यी विद्यार्थीहरुले आफ्नो रकेट परियोजनाले यस क्षेत्रमा रुची राख्ने विद्यार्थीहरुमा ठूलो जानकारी प्रदान गर्न सक्ने र नेपालको रकेट तथा स्पेस एक्स्प्लोरेसनको क्षेत्रमा समेत सहयोग गर्ने विश्वास गरेका छन् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०