close

अब फोनमा खोकी रेकर्ड गरेरै कोरोना पत्ता लगाउन सकिने

टेकपाना टेकपाना

कात्तिक २१, २०७७ १३:५८

अब फोनमा खोकी रेकर्ड गरेरै कोरोना पत्ता लगाउन सकिने

काठमाडौं । कोभिड १९ रोकथाम गर्न नसक्नु पछाडिको एउटा प्रमुख कारण हुन् लक्षण नदेखिने संक्रिमत । शरीरमा संक्रमण छ, तर लक्षण नदेखिने कारणले गर्दा यस्ता बिरामीहरु खुल्लारुपमा बाहिर हिँडडुल गरेर अन्य धरैमा रोग सारिरहेका हुन्छन् । 

यही समस्यालाई समाधान गर्न अमेरिकाको एमआईटी विश्वविद्यालयका अनुसन्धानकर्ताहरुले एउटा एल्गोरिदम विकास गरेका छन् । जसले स्मार्टफोनको प्रयोग गरी खोकी रेकर्ड गरेर लक्षण नदेखिएका बिरामीहरुमा रहेको कोभिड पहिचान गर्न सक्छ । 

एमआईटी प्रतिवेदनअनुसार वास्तवमा यो एउटा ‘ग्रुप डायग्नोस्टिक टूल हो । यदि कोही व्यक्तिमा कक्षाकोठा, फ्याक्ट्री वा रेस्टुरेन्ट प्रवेश गर्नु अघि यो टूलको प्रयोग गर्दा महामारीको संक्रमण फैलिनबाट रोक्ने एमआईटीको अटो आईडी प्रयोगशालाका अनुसन्धान वैज्ञानिक ब्रायन सुबिराना बताउँछन् । 

एमआईटीको अनुसन्धान टोलीले कोरोना महामारी सुरु हुन अघि नै खोकीको रेकर्डिङमा जिवाणुको संकेत डिटेक्ट गर्न एआई मोडलको प्रयोग गर्ने प्रयास सुरु गरिसकेको थियो । प्रारम्भिक चरणमा अुनसन्धानकर्ताहरुले एआई मोडलबाट जबरजस्त रुपमा खोकिएको रेकर्डिङलाई विश्लेषण गरेर अलजाइमर रोग डिटेक्ट गर्ने प्रयास गरेका थिए । 

सो टोलीले अन्ततः एआई फ्रेमवर्क विकास गरेको छ । यो टूलले परिणाममा भोकल कर्डको ताकत, सेन्टिमेन्ट, फोक्सो र स्वासप्रश्वास गतिविधि र मांसपेशीको उतारचढावलाई राम्रोसँग देखाएर रोग पत्ता लगाउँछ । 

कोरोना भाइरस सुरु भए लगत्तै सुबिरानाले अलजाइमर डिटेक्सन फ्रेमवर्क तयार गर्ने टिमलाई साथमा लिएर कोभिड १९ डिटेक्सन गर्ने प्रविधि विकासमा संलग्न गराएका थिए । किनभने कोभिड १९ का बिरामीहरुले पनि अलजाइमरका बिरामीहरुले जस्तै स्नायुसँग सम्बन्धित समस्याको अनुभव गरेको पाइएको थियो । 

अनुसन्धान टोलीले बोलिएका शब्द र दशौं हजार रेकर्डेड खोकीलाई प्रयोग गरेर कोभिड १९ डिटेक्सन एल्गोरिदमलाई प्रशिक्षण गराएका थिए । मोडलमा रेकर्डिङहरु फिड गरिरहेको अवस्थामा पनि उक्त एल्गोरिदमले ९८.५ प्रतिशत कोभिड १९ पुष्टि भएका केसहरुलाई पहिचान गरिरहेको थियो ।

जसमा शत प्रतिशित सहभागीहरु लक्षण नदेखिएका संक्रमितहरु थिए । हाल उक्त टोली आफ्नो एल्गोरिदमलाई सजिलै प्रयोग गर्न सकिने एपमा राख्ने प्रयासमा छ । जसका लागि उनीहरुले एफडीएमा अप्रुभल (स्वीकृति)का लागि निवेदन पठाएका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०