काठमाडौं । नेपालका एक बग हन्टरले फेसबुकमा रहेको सुरक्षा कमजोरी पत्ता लगाएका छन् । काठमाडौंस्थित इस्लिङटन कलेजमा बिएस्सी (हन्स) कम्प्युटिङमा दोस्रो वर्षमा अध्ययनरत उज्जवल गौतमले फेसबुकको युजर प्राइभेसीसम्बन्धी बग पत्ता लगाएका हुन् ।
बग पत्ता लगाएसँगै गौतमले फेसबुकका तर्फबाट ७५० अमेरिकी डलर (८८ हजार नौ सय रूपैयाँ) प्राप्त गरेका छन् । गौतमका अनुसार फेसबुकले यो बगका लागि प्याच गर्न प्रयास गरिरहेको छ ।
‘पहिलो प्याच सफल नभएर बाइपास भइसकेको छ । अहिले दोस्रो चरणको प्याचका लागि फेसबुक टिमले काम गरिरहेकाे छ । त्यसैले बग बाउन्टीको रिवार्ड १२५० डलरसम्म पुग्नेछ,’ उनले भने ।
प्याचकै क्रममा रहेकाले अहिले बगबारे विस्तृत जानकारी दिन नमिल्ने उनले बताए । २० वर्षीय गौतम आफूलाई ह्याकरभन्दा पनि बग हन्टरको रुपमा चिनाउन चाहन्छन् । कलेजको पढाइका अलावा साइबर सेक्युरिटीमा रुचि राख्ने उनले मिडियम डटकममा ब्लग पढेर बाउन्टीमा लाग्न प्रेरित गरेको जनाए ।
उनको पहिलो बग रिपोर्टका कारण फेसबुकले नोभेम्बर १२ मा आफ्नो अफिसियल ह्वाइट ह्याट थ्याङ्स पेजमा गौतमको नाम सूचीकृत गरिसकेको छ ।