काठमाडौं । क्यूआर कोड मार्फत विद्युतीय भुक्तानी गर्ने प्रयोगकर्ताको संख्या बढ्दै गएको देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको २०७७/७८ को सुरुको तीन महिनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार गत असोजमा मात्रै क्यूआर कोडबाट हुने भुक्तानी ९६ करोड ६९ लाख रुपैयाँ देखिएको हो ।
जसका लागि दुई लाख ६५ हजार १२५ पटक क्यूआर कोड प्रयोग भएको थियो । जब कि त्यसअघि साउन र भदौमा क्यूआर मार्फत क्रमशः ५८ करोड ९० लाख रुपैयाँ र ६४ करोड ८० लाख रुपैयाँको कारोबार भएको थियो ।
कारोबार रकमसँगै कारोबार संख्या समेत बढेको राष्ट्र बैंकको प्रतिवेदनमा देखिन्छ । भदौमा एक लाख ७९ हजार १५० पटक प्रयोग क्यूआर कोड भुक्तानीका लागि प्रयोग भएकोमा असोजमा ८५ हजार ९७५ ले बढेको हो ।
नेपाल राष्ट्र बैंकले विद्युतीय भुक्तानी पूर्वाधारमा भएको विकास, विद्युतीय भुक्तानी कारोबारका लागि गरिएको प्रोत्साहन र सर्वसाधारणको विद्युतीय भुक्तानी उपकरण प्रयोगमा बढ्दो अभ्यासका कारण विद्युतीय भुक्तानी कारोबार उल्लेख्य रुपमा बढेको जनाएको छ ।