काठमाडौं । अबदेखि ट्राफिक नियम उल्लंघन गर्ने सवारी चालकलाई अनलाइनबाटै ट्राफिक सचेतना कक्षा दिइने भएको छ । कोभिड १९ का कारण महाशाखाले ट्राफिक सचेतना कक्षालाई प्रविधिको प्रयोगमार्फत् निरन्तरता दिने भएको हो ।
ट्राफिक नियम उल्लंघन गर्ने चालकलाई कोठामा उपस्थित गराएर कक्षा सञ्चालन गर्दा जोखिम झन् बढ्न सक्ने भएकाले भर्चुअल क्लासको व्यवस्था गरिएको हो ।
लामो समयदेखि बग्गीखानामा लिँदै आएको ट्राफिक सचेतना कक्षा कोरोना भाइरस संक्रमणको जोखिमका कारण बन्द भएको थियो।
महाशाखाले मादक पदार्थ सेवन गरी सवारी चलाउने, लेन अनुशासनको पालना नगर्ने र ट्राफिक लाइटको बेवास्ता गरी रातो बत्तीको उल्लंघन गर्ने चालकहरुलाई अनलाइन सचेतना कक्षा लिनुपर्ने जनाएको छ ।
महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले भने, “रातो बत्तीमा समेत गाडी हुँइक्याउने र जथाभावी बाटो क्रस गर्ने पैदलयात्रुको बानीले दुर्घटनाको सम्भावना बढ्ने र सडक जाम समेत हुन्छ, यस्तो प्रवृत्तिलाई निरुत्साहित गर्न र ट्राफिक लाइटको पूर्ण पालना गराउन कारबाहीका साथै ट्राफिक कक्षा लिने व्यवस्था गरिएकाे हाे ।”
हाल उपत्यकाको २५ स्थानमा ट्राफिक लाईटको माध्यमबाट चोकहरुको व्यवस्थापन हुँदै आएको छ ।
सचेतना कक्षा सम्बन्धी दैनिक तालिका तथा कक्षाको लिङ्क समेत महाशाखाको अफिसियल फेसबुक पेजमा प्रकाशित गरिने छ । ट्राफिक कारबाहीमा परी सचेतना कक्षामा अनिवार्य समावेश हुनुपर्ने चालकहरुले सोही फेसबुक पेजको लिङ्क मार्फत निर्धारित समयभन्दा अगावै समावेश हुनुपर्ने छ ।
एक घण्टाको सचेतना कक्षामा समावेश हुन सम्बन्धित चालकले ट्राफिक प्रहरीले दिएको चिटको नम्बर प्रयोग गरी रजिष्ट्रेसन गर्नुपर्ने व्यवस्था मिलाइएको छ ।