close

वैदेशिक रोजगारीमा जाँदा कल्याणकारी कोष र बीमाको रकम ई-सेवाबाट भुक्तानी गर्न सकिने

टेकपाना टेकपाना

मंसिर १७, २०७७ १५:३२

वैदेशिक रोजगारीमा जाँदा कल्याणकारी कोष र बीमाको रकम ई-सेवाबाट भुक्तानी गर्न सकिने

काठमाडाैं । वैदेशिक रोजगारीमा जाने श्रमिकहरूले कल्याणकारी कोष र बीमाको रकम ई-सेवाबाट भुक्तानी गर्न सकिने सेवाको सुरूवात भएको छ । योसँगै वैदेशिक रोजगारमा जाँदा ई-सेवा खाता भएका व्यक्तिले सिधै ई-सेवाबाट भुक्तानी गर्न सक्नेछन् भने ई-सेवा खाता नभएका व्यक्तिले नजिकै रहेका ई-सेवा जोन पोइन्टबाट सहजै बीमा रकम भुक्तानी गर्न सक्नेछन् ।

सन नेपाल लाइफ इन्स्योरेन्सले जारी गर्ने वैदेशिक रोजगार म्यादी बीमाको ई-सेवा मार्फत भुक्तानी गर्न सकिन्छ । यस्तै कल्याणकारी कोषको रकम व्यक्तिगत र संस्थागत दुवैै किसिमको भुक्तानी गर्न सकिन्छ ।

आफैंले वा आफ्नो साथीभाइको मद्दतबाट रोजगारको अवसर खोजी श्रम स्वीकृति लिने प्रक्रियामा भएका व्यक्तिले ई-सेवाबाट व्यक्तिगत रुपमा कल्याणकारी कोषमा रकम बुझाउन सकिनेछ ।

यसैगरी पहिले रोजगारका लागि विदेश गइसकेको र पुनः सोही ठाउँमा जान भिसा नवीकरण गर्ने व्यक्तिले पनि व्यक्तिगत रुपमा अनलाइन फारम भरी ई-सेवाबाट कल्याणकारी कोषमा रकम बुझाउन सकिनेछ ।

यस्तै म्यानपावर मार्फत वैदेशिक रोजगारमा पठाउने मेनपावर कम्पनीले पनि एक मुस्ट कल्याणकारी कोषमा रकम बुझाउन सकिनेछ । जसका लागि कम्पनीले इजाजत प्राप्त गरेको समयमा पाएकोे लट नम्बर प्रयोग गरी पनि ई-सेवाबाट रकम बुझाउन सकिनेछ ।

ई-सेवाबाट सिधै बीमा र कल्याणकारी कोषको रकम भुक्तानी गर्न सकिने भएपछि वैदेशिक रोजगारीमा जाने व्यक्तिको समय र खर्चको बचत हुनेछ । यसअघि कल्याणकारी कोष र बीमाको रकम बुझाउन लामो समय लाइनमा बस्नुपर्ने बाध्यता थियो ।

वैदेशिक रोजगार कल्याणकारी कोषको शुल्क बुझाउन निम्नलिखित प्रक्रिया पुरा गर्नुपर्नेछ ।

१. ई-सेवा खातामा लगइन गर्नुहोस् ।

२. सर्च बारमा ‘Foreign Employment Welfare Fund’ लेखी देखाइएको आइकनमा थिच्नुहोस् ।

३. व्यक्तिगत शुल्क बुझाउँदै हुनुहुन्छ भने ‘Individual’ र म्यानपावरबाट शुल्क बुझाउँदै हुनुहुन्छ भने ‘Man Power’ छनोट गर्नुहोस् ।

४. व्यक्तिगत शुल्क बुझाउँदै हुनुहुन्छ भने पासपोर्ट नम्बर र म्यान पावरबाट शुल्क बुझाउँदै हुनुहुन्छ भने पासपोर्ट नम्बर साथै लट नम्बर दाखिला गरी ‘Check’ मा थिच्नुहोस् ।

५. देखाइएको विवरण सबै ठीक छ भनी प्रमाणित गरी शुल्क तिर्नुहोस् ।

यसरी वैदेशिक रोजगार कल्याण कोषमा बुझाएको रकमको टिपोट राख्न चाहनुहुन्छ भने माथिल्लो दायाँ कुनामा देखिने पीडीएफको आइकनमा थिची भुक्तानी विवरण डाउनलोड गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०