close

फोनमा कस्तो अवस्थामा ‘क्यास मेमोरी’ डिलिट गर्ने ? सजिलै बुझ्रनुहोस् यसको काम

टेकपाना टेकपाना

मंसिर १९, २०७७ २१:३७

फोनमा कस्तो अवस्थामा ‘क्यास मेमोरी’ डिलिट गर्ने ? सजिलै बुझ्रनुहोस् यसको काम

काठमाडौं । तपाईंले आफ्नो फोनमा क्यास मेमोरी धेरै पटक देख्नुभएको होला । यो कस्तो मेमोरी हो र यसले के काम गर्छ त ? आज हामी तपाईंलाई यसको बारेमा विस्तृत बताउँदै छौं ।

क्यास मेमोरी खासमा एउटा हार्डवेयर आधारित स्टोरेज हो । यो तपाईंको स्मार्टफोन वा कम्प्युटरको प्रोसेसरको नजिक हुन्छ ।

तपाईं जब आफ्नो फोनको सेटिङभित्र स्टोरेज अप्सनमा जानुहुन्छ, तब तपाईंले क्यास मेमोरी देख्नुहुन्छ । 

तपाईंको फोनमा धेरै एप्लिकेशन हुन्छन् । ती एपले आफूसँग भएको कुनै कुनै डेटालाई अस्थायी समयका लागि कुनै मेमोरीमा सेभ गरेर राख्नुपर्छ, जसलाई क्यासिङ भनिन्छ ।

उदाहरणका लागि तपाईंले प्रयोग गर्ने ग्यालरी जब खोल्नुहुन्छ तब त्यसमा तपाईंले खिचेका तस्वीर तथा भिडियोहरुको थम्बनेल देखिन्छ ।

यदि ती थम्बनेलहरु कतै स्टोर भएका छैनन् भने तपाईंले ग्यालरी खोल्दैपिच्छे फोनले ती थम्बनेललाई जेनेरेट गर्नुपर्ने हुन्छ ।

यिनै क्यास मेमोरीको मद्दतले तपाईंले फोनले फोटो तथा भिडियोमा प्रिभ्यू देखाउँछ । यसले गर्दा तपाईंको मोबाइलको ब्याट्री बच्छ र प्रोसेसरमा समेत कम भार पर्दछ । 

यसैले ग्यालरीले आफ्नो थम्बनेल अगाडि नै क्यास मेमोरीमा स्टोर गर्दछ । दोस्रो पटकबाट तपाईंले त्यो खोल्दा एपमा क्यासबाट ती डेटा लोड भएर आउने गर्छन् । 

यस्तै गरी यदि तपाईं फेसबुक वा अन्य कुनै वेबसाइटमा केही हेर्दै हुनुहुन्छ र त्यसैबेला इन्टरनेट गयो भनेपनि क्यास सर्भरमा डेटा सुरक्षित हुने हुँदा सामाग्रीलाई पुनः लोड गरेर हेर्नसक्नुहुन्छ ।

यही प्रयोजनका लागि क्यास मेमोरीलाई प्रयोग गर्ने हाम्रो फोनमा धेरै एप हुन्छन् । क्यास मेमोरी ब्याकअपका लागि राम्रो कुरा हो ।

तर कहिलेकाहिँ यसको आफ्नै स्टोरेज लिमिटेसन पनि बढेर गइदिन्छ । ५०० एमबी, एक जीबी, दुई जीबी हुँदै बढेर जान्छ ।

यस्तो बेला क्यास मेमोरीले हाम्रो स्टोरेजको धेरै हिस्सा ओगटेको भन्दै हामी त्यसलाई डिलिट गर्न पनि प्रयास गर्छौं । तर क्यास क्लिन डिलिट गर्न ठीक हो त ? यो दुविधा प्रयोगकर्ताहरुमा मनमा उठ्ने गर्छन् । 

यदि तपाईंको फोनमा पर्याप्त स्पेस छ र स्पेसको खाँचो देख्नुहुन्न भने क्यासलाई क्लिन नगर्नुहोस् । यसले दुईवटा समस्या निम्त्याउन सक्छ ।

पहिलो क्यास मेमोरीका सबै डेटा क्लिन भइसकेपछि  एपहरु फेरि क्यासमा लोड हुनुपर्छ । यसले गर्दा एप लोडिङ भइरहने समस्या हुन्छ ।

जब एपले क्यासमा डेटा अपलोड गर्दै जान्छ तब विस्तारै मेमोरी फेरि भरिँदै जान्छ । आज क्लिन गरेपनि १० दिनपछि क्यास मेमोरी त्यही अवस्थामा पुगेपछि क्यास क्लिन गर्नुको कुनै अर्थ हुँदैन

यसो गरिरहँदा तपाईंको फोनको ब्याट्री र प्रोसेसरमा पनि भार परिरहेको हुन्छ । तर यदि तपाईंको फोनमा स्टोरेज लिमिटेसन कम हुँदै गइरहेको छ भने क्यास क्लिन गरेर स्टोरेज रिकभर गरी आफ्नो फाइलहरु सेभ गर्नसक्नुहुन्छ ।

यसबाहेक यदि तपाईंको कुनै एपले राम्ररी काम गरिरहेको छैन भने ती एपको क्यास मेमोरी क्लिन गर्नसक्नुहुन्छ । तपाईंले हरेक एपको लागि छुट्टा छुट्टै क्यास मेमोरी क्लिन गर्नसक्नुहुन्छ । 

यसका लागि सेटिङमा जानुहोस् । त्यहाँ एप्लिकेसनमा क्लिक गर्नुहोस् । कुनै एउटा एपमा क्लिक गरिसकेपछि त्यसको विवरण तल देखिन्छ ।

तल क्यास क्लिन र डेटा क्लिनको अप्सन हुन्छ । डेटा क्लिन गर्नुभयो भने तपाईको एप इन्स्टल गर्दाको समय जस्तो नयाँ बन्छ ।

तर क्यास क्लिन गर्नु भयो भने क्यास स्टोरेज क्लिन हुन्छ । यसैकारण क्यासलाई स्टोरेजको कमी महसुस नभएसम्म कहिल्यै क्लिन नगर्नुहोस् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०