close

राइड शेयरिङमा नयाँ एप, एम्बुलेन्स र हेलिकोप्टर समेत बुक गर्न सकिने

टेकपाना टेकपाना

मंसिर २२, २०७७ १४:४

राइड शेयरिङमा नयाँ एप, एम्बुलेन्स र हेलिकोप्टर समेत बुक गर्न सकिने

काठमाडौं । नेपाली राइड शेयरिङको बजारमा थप एउटा सेवाप्रदायक कम्पनी थपिएको छ । राइड शेयरिङदेखि हेलिकोप्टर बुकिङसम्मको सुविधा उपलब्ध गराउने उद्देश्यका साथ एटेन्ड नामक एप सञ्चालनमा आएको हो । 

हाल कम्पनीले सफ्ट लञ्चको रुपमा आफ्नो सेवा सुरु गरिसकेको छ । यसैसाता सञ्चालनमा आएको यो एपमा बाइक,ट्याक्सी, एम्बुलेन्स, शव बहान, कार, जिप, ट्रक, बस र हेलिकोप्टरको सेवा समेत समावेश छ । 

नेपालभर सेवा दिने उद्देश्यका साथ एप सञ्चालनमा ल्याइएको कम्पनीका सीईओ भिम भण्डारीले जानकारी दिए । ‘हामीले अहिले सफ्ट लञ्चको रुपमा आफ्नो सेवा आरम्भ गरेका छौं,’ उनले भने, ‘एक महिना जतिमा औपचारिक रुपमा नै सेवा सञ्चालनमा ल्याउने योजना छ ।’

सीईओ भण्डारीका अनुसार सफ्ट लञ्च भएको एक साता नबित्दै एपमा साढे पाँच सयभन्दा बढी सवारीसाधन आवद्ध भइसकेका छन् । कम्पनीले राइडर तथा सवारी चालकको कोरोना परीक्षण अनिवार्य गरेको छ ।

‘कोरोना परीक्षणमा लाग्ने सबै शुल्क कम्पनीकै तर्फबाट ब्यहोरिरहेका छौं,’ भण्डारीले भने, ‘रिपोट नेगेटिभ आएको खण्डमा मात्रै हामी उहाँहरुलाई राइड शेयरिङका लागि अनुमति दिन्छौं ।’

कोरोना भाइरसको महामारी फैलिन नदिन पृथक र सचेत ढंगल सेवा दिन थालिएको कम्पनीले  जनाएको छ । कोरोना भाइरसको महामारी नियन्त्रणमा आउँदै गएसँगै सेवालाई आक्रामकताका साथ बजारमा लैजाने योजनामा कम्पनी रहेको छ ।

अबको एक महिना अवधिमा साढे तीन हजार सवारीसाधन आवद्ध गरिसक्ने कम्पनीको लक्ष्य छ । एटेन्डको मोबाइल एप आईओएसएन्ड्रोइड दुवैका लागि उपलब्ध छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०