close

सोमबार यसकारण डाउन भएको थियो युट्युब र जिमेल

टेकपाना टेकपाना

मंसिर ३०, २०७७ १२:४४

सोमबार यसकारण डाउन भएको थियो युट्युब र जिमेल

काठमाडौं । सोमबार जिमेल, युट्युब तथा गुगल ड्राइभ जस्ता गुगलका सेवाहरु करिब एक घन्टा जति अवरुद्ध भए । सेवा अवरुद्ध हुँदा गुगलका करोडौं प्रयोगकर्ता प्रभावित भए । प्रयोगकर्ताको इमेलले काम गरेन, युट्युबमा भिडियो नै देखिएन ।

गुगलका प्रवक्ताले भने सोमबारको अवरोध करिब ४५ मिनेटको भएको बताएका छन् । गुगलले आफ्ना प्रयोगकर्ताहरुलाई उपलब्ध गराइरहेको स्टोरेज सिमामा भएको समस्याका कारण सेवाहरु अवरोध हुन पुगेको गुगलले विज्ञप्तिमा उल्लेख गरेको छ ।

गुगलले दुई दिनअघि मात्रै आफ्ना जिमेल प्रयोगकर्तालाई दुई बर्षदेखि निष्क्रिय जिमेल र स्टोरेज सिमा कटेको भए सबै कन्टेन्ट डिलिट गर्ने नयाँ नीति सहितको सन्देश प्रयोगकर्तालाई पठाएको थियो ।

सोमबार गुगलका सेवाहरु अवरुद्ध हुँदा प्रयोगकर्ताहरुले धेरै किसिमका समस्याहरु सामना गर्नुपरेको विज्ञप्तिमा उल्लेख छ । त्यसो त सोमबार नै गुगलको सेवा पुनः सुचारु भइसकेको छ ।

साथै गुगलले आफ्ना सम्पूर्ण सेवाग्राहीहरुसँग माफी माग्दै भविष्यमा यस्तो समस्या दोहोरिन नदिने गरी हालको समस्या समाधानमा निरन्तर लाग्ने जनाएको छ । सोमबार स्थानीय समयअनुसार ६ः२२ मिनेट जाँदा गुगलका सम्पूर्ण सेवाहरु सामान्य रुपमा सुचारु भएका थिए ।

सिस्टम विश्वसनीयतालाई आफ्नो प्रमुख प्राथमिकतामा राख्ने गुगलले सिस्टमलाई अझ सुधार गर्न निरन्तर काम गरिरहेको बताएको छ । विश्वभर गुगल र युट्युबका संयुक्त साढे तीन अर्ब प्रयोगकर्ताहरु छन् ।

गुगलको समस्याका कारण साढे ३ अर्ब प्रयोगकर्ता प्रभावित भएको कारण यसलाई टेक क्षेत्रले निकै ठूलो समस्याको रुपमा हेरेको थियो । डाउनडिटेक्टर डट कमले युट्युबमा एक लाख १२ हजार र जिमेलमा ४० हजार गुनासाहरुको रेकर्ड गरेको थियो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४