close

जूम यसरी बन्यो २०२० को सफल टेक कम्पनी

टेकपाना टेकपाना

पुस १४, २०७७ १२:२४

जूम यसरी बन्यो २०२० को सफल टेक कम्पनी

काठमाडौं । कोभिड १९ संक्रमण सुरू हुनुअघि धेरैलाई जूमको विषयमा जानकारी थिएन होला । जब कोभिड महामारी सुरु भयो, त्योसँगै घरमै बसेर कार्यालयको काम गर्नुपर्ने, आफन्तसँग जोडिनुपर्ने, बैठक बस्नुपर्ने लगायत विभिन्न कारणले जूम सबैको लोकप्रिय भिडियाे कन्फ्रेन्सिङ प्लेटफर्म बन्याे ।

त्यसैले पनि त विश्व महामारीले थलिएको अवस्थामा कोही अघि बढी रहेको थियो भने त्यो जूम नै थियो । त्यसैले त सन् २०२० को पहिलो चौमासिकमा जूमको डाउनलोड आकासियो । सेन्सर टावरले सार्वजनिक गरेको प्रतिवेदन अनुसार उक्त समयमा जूमको डाउनलोड ८० मिलियन अर्थात् ८ करोड डाउनलोड भएको थियो ।

जसमा भारतबाटै ६० लाख डाउनलोड भएको थियो । यही समयमा जूममा सुरक्षाका कमजोरीहरु देखिन थाले । उक्त समस्याले झन जूमलाई चर्चित बनायो । दोस्रो चौमासिकको प्रतिवेदनमा जूमको डाउनलोड अझ बढ्यो । जूमले डाउनलोडका हिसाबले टिकटकलाई पनि पछि पार्‍यो ।

दोस्रो चौमासिकमा मात्रै याे एप ३० करोड पटक डाउनलोड भएको थियो । त्योसँगै जूम विश्वकै सबैभन्दा बढी डाउनलोड भएको एप बन्न सफल भयो । आईओएसमा पनि विश्वभर ९ करोड ४० लाख पटक डाउनलोड भयो । जुन टिकटकभन्दा २३ मिलियन बढी थियो ।

पहिलो त्रैमासमा कम्पनीको आम्दानी ३२८.२ मिलियन डलर भएको थियो । जुन अघिल्लो वर्षको सोही समयको तुलनामा १६९ प्रतिशतले बढी हो । दोस्रो चौमासिकमा कम्पनीको आम्दानी ६६३.५ मिलियन डलर पुग्यो भने, तेस्रोमा ७७७.२ मिलियन अमेरिकी डलर पुगेको थियो ।

पहिलो दुई त्रैमासमा कम्पनीको आम्दानी र एप डाउनलोड हेर्दा भविष्यमा सायदै अर्काे कुनै कम्पनीले यस्ताे उपलब्धि हासिल गर्नेछन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०