close

फिनटेक साम्राज्य तोड्न ज्याक मालाई चीनको आदेश

टेकपाना टेकपाना

पुस १४, २०७७ १७:४५

फिनटेक साम्राज्य तोड्न ज्याक मालाई चीनको आदेश

काठमाडौं । अलिबाबा ग्रुपका सह-संस्थापक ज्याक माको नियन्त्रण रहेको टेक साम्राज्यमाथि चीनले लगाम लगाउने अभियान थालेको छ । 

गत डिसेम्बर २४ मा एकात्मक बजार शक्तिको अभ्यास गरेको आरोपमा चिनियाँ प्रशासनले ज्याक माको अनलाइन रिटेल जायन्टमाथि अनुसन्धान र कडा निगरानी गर्न आदेश जारी गरेको थियो ।

हालै चिनियाँ प्रशासनले ज्याकमाकै अर्को वित्तीय प्रविधि कम्पनी एन्ट ग्रुपको आकारलाई पनि पुरानो अवस्थामै खुम्च्याउँन नयाँ आदेश दिएको छ । 

चीनको केन्द्रिय बैंकका सहायक गभर्नर पान गोङसेङले एन्टको व्यवसायिक सञ्चालन न्यायिक नभएको भन्दै उक्त भुक्तानी सेवा प्रदायकलाई आफ्नै पुरानो अवस्थामा फर्कन आदेश दिएको छ । 

गत शनिबार सहायक गभर्नर पानले एन्टका प्रतिनिधि र नियामकलाई बैठकका बाेलाएका थिए । सो बैठकमा एन्टले आफ्नो अवैधानिक क्रेडिट, बीमा र सम्पत्ति व्यवस्थापनका वित्तीय क्रियाकलापलाई कडाइका साथ सुधार गर्न आदेश दिइएको थियो । 

त्यसलगत्तै एन्ट ग्रुपले विज्ञप्ति जारी गर्दै ‘रेक्टिफिकेसन कार्यकारी समूह’ गठन गरी नियामकले चाहे अनसार आवश्यकताहरुलाई पूर्ण रुपमा कार्यान्वयन गर्ने बताएको छ । 

ज्याक माले गत अक्टोबर २४ मा सांघाईमा आयोजना भएको बण्ड सम्मेलनमा चीनको कडा नियमन र बैंकमाथि राज्यको वर्चस्वलाई लिएर खुल्लमखुल्ला दिएको अभिव्यक्तिपछि उनको कम्पनी सरकारको निशानामा परेको विश्लेषक तथा नीति विज्ञहरु बताउँछन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०