close

रेडियो सुन्ने फेरिँदो शैली, मोबाइल एपमा रेडियो सुन्ने देशभन्दा विदेशमा धेरै

टेकपाना टेकपाना

पुस १६, २०७७ १४:३

रेडियो सुन्ने फेरिँदो शैली, मोबाइल एपमा रेडियो सुन्ने देशभन्दा विदेशमा धेरै

काठमाडौं । आम सञ्चारका माध्यमहरुमा रेडियो पुरानो माध्यम भएपनि यसको लोकप्रियता भने अझै कमजोर बनिसकेको छैन । हुन त परम्परागत तरिकाबाट रेडियो सेट राख्ने तथा सुन्ने श्रोताको संख्यामा कम हुँदै गएको छ । 

तर सूचना प्रविधिको विकाससँगै रेडियो सुन्ने नयाँ शैली पनि विकास हुँदै गएको छ । रेडियो फ्रिक्वेन्सी अर्थात विद्युतीय चुम्बकीय तरंगमार्फत प्रसारण हुने भएकैले नै यसको नाम रेडियो तथा एफएम रहन गएको हो । 

तर रेडियोहरु आफ्नो विरासतबाट बाहिर निस्किँदै अनलाइनमा सुनिन थालेका छन्, चाहे त्यो सम्बन्धित रेडियोको वेबसाइट होस् वा हाम्रो पात्रो जस्ता मोबाइल एप । त्यसो त केही रेडियोहरुले आफ्नै मोबाइल एपबाट समेत प्रशारण गरिरहेकै छन् ।

तर नेपालकै सबैभन्दा धेरै प्रयोग हुने एप ‘हाम्रो पात्रो’ले देशभरका करिब सबै रेडियोलाई एकै स्थानमा ल्याएको छ । आजभन्दा करिब ८ वर्ष अघि अर्थात सन् २०१३ मा रेडियो प्रसारण आफ्नो प्लेटफर्ममा समेटेको हाम्रो पात्रोमा अहिले चार सयभन्दा बढी रेडियो उपलब्ध छन् । 

परम्परागत विधि अर्थात रेडियो सेटबाट रेडियो सुन्ने कुरामा आफ्नै किसिमका सीमितता छन् । सम्बन्धित रेडियोको फिक्वेन्सी नलाग्ने स्थानमा सुन्नै सम्भव नहुने ।

तर अनलाइनमै रेडियो उपलब्ध भएपछि देशभित्र मात्र होइन, विश्वभर जहाँ भएपनि स्थानीय सबै रेडियो सुन्न सकिने भएको छ । यसका लागि रेडियो सेट साथमा बोकिरहनुपर्ने झन्झट पनि भएन ।

कम ब्याण्डविथ खपत गर्ने भएकाले वाईफाई तथा फिक्स लाइन इन्टरनेट नहुँदाको बखत मोबाइल डेटाबाटै हाम्रो पात्रोमा रेडियो सुन्न सकिन्छ । यस्तै किसिमको सहजताले अहिले अनलाइनमा रेडियो सुन्नेको संख्या बढ्दो छ ।

कम्पनीका अनुसार हाम्रो पात्रोको एपबाट हाल दैनिक चार लाखले अनलाइनमा रेडियो सुन्ने गरेका छन् । जसमध्ये २ लाख ५० हजार विदेशमा छन् ।

देशभित्र पनि उपत्यका बाहिरबाट एपमा रेडियो सुन्नेहरु धेरै छन् । हाम्रो पात्रोले साउथकास्ट स्ट्रिमिङ प्रविधिमार्फत देशभरका रेडियोलाई आफ्नो प्लेटफर्मा लाइभ स्ट्रिमिङ गर्दै आएको छ ।

यसका लागि सम्बन्धित रेडियोले कम्पनीलाई स्ट्रिमिङ लिङ्क उपलब्ध गराए पुग्छ । त्यस वापत कुनै शुल्क समेत तिर्नुनपर्ने हाम्रो पात्रोले जनाएको छ । 

गत एक वर्षयता एपले रेडियोका श्रोताको संख्या समेत एपमै हेर्न सकिने व्यवस्था मिलाएको छ । जसअनुसार यस अवधिमा हाम्रो पात्रोमा उज्यालो रेडियो नेटवर्क, रेडियो कान्तिपुर र कालिका एफएम एक करोडभन्दा बढी पटक सुनिएका छन् ।

यी रेडियो सुनिएको संख्या क्रमशः एक करोड २६ लाख, एक करोड १७ लाख र एक करोड ७ लाख रहेको छ । हाम्रो पात्रो अहिले अनेक थरीका सेवा एउटै स्थानमा उपलब्ध गराउने ‘इन्टिग्रेटेड’ एपको रुपमा परिचित हुँदै गएको छ ।

यसमा सञ्चारका सबै माध्यमहरु रेडियो, टेलिभिजन, पत्रपत्रिका र अनलाइन न्युज पोर्टल समेत जोडिएका छन् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०