काठमाडौं । ह्वाट्सएप अहिले विश्वभरमा सबैभन्दा धेरै प्रयोग गरिने इन्स्ट्यान्ट म्यासेजिङ एप बनिसकेको छ । लगतार रुपमा प्रयोगकर्ताको संख्या बढ्दो क्रममा छ ।
ह्वाट्सएपको माध्यमबाट म्यासेज, तस्वीर र भिडियो पठाउन र प्राप्त गर्न निकै सहज छ । यसमा आएको ब्लु टिक नोटिफिकेसन अर्थात निलो रङ्गको टिकले प्रयोगकर्तालाई निकै सहज बनाएको छ ।
तपाईंले पठाएको म्यासेज पाउने व्यक्तिले पढ्यो कि पढेन भन्ने कुरा अवश्य पनि तपाईंका लागि महत्वपूर्ण हुने नै भयो । रिप्लाई आए त ठीकै छ, नआउँदा कसरी थाहा पाउने ?
आज हामी तपाईंलाई ह्वाट्सपमा पठाइएको म्यासेज पढे नपढेको कसरी थाहा पाउने भन्ने बारेमा बताउँदै छौं । यसका लागि ह्वाट्सएपमा रहेको ब्लु टिकलाई अन गरेर राख्नु पर्ने हुन्छ ।
यसलाई अन गर्न आफ्नो ह्वाट्सएप खोल्नुहोस् र माथि दायाँ कुनामा रहेको तीन थोप्ला भएको स्थानमा थिच्नुहोस् । अब ह्वाट्सएपको सेटिङहुँदै अकाउन्टमा जानुहोस् । त्यसपछि प्राइभेसीमा गएर ‘रिड रिसिप्ट्स’ अगाडिको टोगल अर्थात बटन अन गर्नुहोस् ।
यति गरेपछि तपाईंले पठाएको म्यासेज सम्बन्धित व्यक्तिले पढेको खण्डमा म्यासेजको तल निलो कलरको टिक देखिनेछ । जसको अर्थ तपाईंको म्यासेज पढिएको भन्ने हुन्छ ।
यस बाहेक आफूले पठाएको म्यासेजमा केहीबेर दबाएर राख्नुहोस् र माथी दायाँ कुनामा रहेको तीन वटा थोप्ला भएको बटनमा दबाउनुहोस् । त्यहाँ रहेको ‘इन्फो’ भित्र जानुहोस् ।
अब त्यहाँ तपाईंले म्यासेज पढिएको भए निलो कलरको डबल टिक देख्न सक्नुहुनेछ । ग्रुप म्यासेजमा भने उक्त ग्रुपमा भएका सबैले पढेको खण्डमा मात्र ब्लु टिक देख्न सक्नुहुनेछ ।
तर ग्रुप म्यासेजमा आफूले कुनै म्यासेज पढेको अरुले थाहा नपाउने विकल्प भने छैन । तपाईंले ह्वाट्सएपमा पठाएको म्यासेजमा सिंगल टिक (एउटा मात्र टिक मार्क भएको), डबल टिक (दुई वटा टिक मार्क भएको) र ब्लु डबल टिक (दुई वटा टिक निलो कलरमा भएको) संकेत देख्न सक्नुहुन्छ ।
त्यसमा सिंगल टिकको अर्थ म्यासेज सफलतापूर्वक पठाइएको छ भन्ने हुन्छ भने डबल टिकले सम्बन्धित व्यक्तिकहाँ त्यो म्यासेज पुगिसकेको भन्ने जनाउँछ । त्यसैगरी ब्लु डबल टिकले चाहिँ त्यो म्यासेज पाउने व्यक्तिले पढिसकेको बुझ्नुपर्ने हुन्छ ।
यदि तपाईंको व्यक्तिगत ह्वाट्सएप म्यासेजमा निलो चेक मार्क देखिएको छैन भने त्यसको अनेक कारण हुनसक्छ । जसमा सम्बन्धित व्यक्तिले यो फिचर बन्द गरेर राखेको हुनसक्छ ।
त्यस बाहेक तपाईंलाई ब्लक गरेको, फोन अफ भएको, तपाईंसँगको च्याट अन नगरेको वा कनेक्सन समस्या भएको पनि हुनसक्छ ।
आफूले म्यासेज पढेको थाहा नदिने कसरी ?
यदि तपाईं यसमा कसैले पठाएको म्यासेज आफूले पढेको वा नपढेको थाहा नपाओस् भन्ने चाहनुहुन्छ भने ह्वाट्सएपमा त्यसको पनि विकल्प छ । सेटिङभित्र अकाउन्ट प्राइभेसीमा रहेको ‘रिड रिसिप्ट्स’ अफ राख्नु भएको छ भने त टन्टै भएन ।
तर अन छ भने सबैभन्दा पहिला आफ्नो मोबाइलमा ह्वाटसएप खोल्नुहोस् र त्यसको सेटिङमा गएर नोटिफिकेसन अन गर्नुहोस् । त्यसो त कतिपय मोबाइलमा यो फिचर डिफल्ट रुपमै अन भएको हुन्छ ।
यतिगरेपछि मोबाइल नोटिफिकेसनमा ह्वाट्सएपको म्यासेज आउँदा त्यसलाई स्वाइप नगरिकनै डिभाइसलाई अनलक गर्नुहोस् । अब ह्वाट्सएपमा आएको नोटिफिकेसनलाई पुरा पढ्नका लागि म्यासेजलाई हलुकासँग तलतर्फ धकेल्नुहोस् वा उक्त म्यासेज आएको समय देखिने स्थानमा थिच्नुहोस् ।
यसरी तपाईं ह्वाट्सएपको म्यासेज नोटिफिकेसनमै पढ्न सक्नुहुन्छ । यसो गर्दा तपाईंले ‘रिड रिसिप्ट्स’ अन गर्नुभएको छ भने पनि पठाउने व्यक्तिले म्यासेज पढेको वा नपढेको थाहा पाउने छैन ।
ध्यान राख्नुहोस्, यो ट्रिक केवल त्यस्ता स्मार्टफोनमा काम गर्दछ, जसमा एन्ड्रोइड ९.० वा त्यसभन्दा माथिको तथा आईओएस १३ र त्यसमाथिका भर्सनमा मात्र काम गर्दछ ।