काठमाडौं । सामाजिक सञ्जाल इन्स्टाग्राम र ह्वाट्सएपबाट १३ लाख ३९ हजार रुपैयाँ ठगी गरेको आरोपमा दुईजना पक्राउ परेका छन् ।
महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले बुधबार रुपन्देही मर्चवारी गाँउपालिका ४ बस्ने २९ वर्षीय धर्मेन्द्र उपाध्याय र ४५ वर्षीय अनन्तकुमार उपाध्यायलाई ठगी आरोपमा पक्राउ गरेको हो ।
उनीहरुले इन्स्टाग्राम र ह्वाट्सएपमा फेक आईडी बनाएर साथीको रुपमा विभिन्न व्यक्तिबाट उक्त रकम ठगी गरेको प्रहरीले जनाएको छ ।
उनीहरूले आफूलाई नेदरल्याण्डको नागरिक र केमिकल इन्जिनियर बताएर आईफोन इलाभेन, ल्यापटप र सुन लगायतका बहुमूल्य सामानहरुको गिफ्ट पठाइदिएको भन्दै लोभ्याउने गरेका थिए ।
जसका लागि भन्सार बापत रकम पठाउनुपर्ने प्रलोभन देखाएर उनीहरुले पीडितलाई विभिन्न बैंकहरूको खाता नम्बरमा पटक-पटक गरी उक्त रकम जम्मा गर्न लगाएर ठगी गरेको बताइएको छ ।
प्राप्त उजुरीका आधारमा महाशाखाबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय रुपन्देहीको सहयोगमा लुकीछिपी बसेका उनीहरूलाई पक्राउ गरिएको थियो ।
उनीहरूलाई ठगी मुद्दामा आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको उक्त महाशाखाले जनाएको छ ।