काठमाडौं । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले विज्ञान प्रविधिको क्षेत्रमा अनुसन्धान गर्ने अनुसन्धानकर्ता तथा वैज्ञानिकहरुको डाटाबेस तयार पारेको छ । देश तथा विदेशमा बस्ने वैज्ञानिकहरुलाई समेटेर कुल ८ सय ७३ जनाको सूची सार्वजनिक गरेको हो ।
नास्टले सार्वजनिक गरेको उक्त सूचिमा विज्ञान, प्रविधि तथा आविष्कारकाे क्षेत्रमा विद्यावारिधि गरेका व्यक्तिहरु समेटिएका छन् । नास्टको प्रविधि संकाय प्रमुख रविन्द्र ढकालका अनुसार यो सूचीमा नेपाल तथा विदेशमा रहेर काम गर्ने दुवैलाई समेटिएको छ ।
पहिलो चरणमा विद्यावारिधि गरेका व्यक्तिहरुलाई मात्रै समेटेर यो सूची सार्वजनिक गरिएको हो । यो सुचीमा मानविकी, स्वास्थ्य जस्ता अन्य क्षेत्रलाई भने नसमेटिएको ढकालले जानकारी दिए । ढकालका अनुसार यसअघि नास्टले सूचना नै जारी गरेर आवेदन माग गरेको थियो ।
जसमा नास्टले विज्ञान प्रविधिको क्षेत्रमा अनुसन्धान गर्ने अनुसन्धानकर्ता तथा वैज्ञानिकहरुको डाटाबेस तयार गर्ने र उनीहरुलाई छुट्टै परिचयपत्र (आईडी नम्बर) समेत प्रदान गर्ने जनाएको थियो । सोही सूचनाको आधारमा आएको आवेदनबाट नास्टले यो सूची तयार पारको हो ।
‘यसको मुख्य उद्देश्य भनेको वैज्ञानिकको डेटाबेस तयार गर्नु नै हो,’ ढकालले भने, ‘कुन व्यक्तिले कुन क्षेत्रमा कुन विषयमा अनुसन्धान गर्दै छन् भन्ने जानकारी पनि संकलन हुने भयो । त्यो हुँदा सरकारलाई आवश्यकता परेको समयमा कुन क्षेत्रमा कति अनुसन्धानकर्ता र वैज्ञानिक छ भन्ने पनि जानकारी सहजै प्राप्त हुन छ । आवश्यक्ता अनुसार परिचालन गर्न समेत सकिने भयो ।’