close

ह्वाट्सएप बहिष्कार गर्ने होडबाजी, सिग्नल प्रयोग गर्न पेटीएम सीईओको अपिल

टेकपाना टेकपाना

पुस २७, २०७७ २१:४२

ह्वाट्सएप बहिष्कार गर्ने होडबाजी, सिग्नल प्रयोग गर्न पेटीएम सीईओको अपिल

काठमाडौं । विश्वका धनाढ्य एलन मस्कले ह्वाट्सएपको आलोचना गर्दै सिग्नल सिफारिस गरेपछि ह्वाट्सएप छाडेर सिग्नलतिर जानेको संख्या बढेको छ । सामान्य प्रयोगकर्ता मात्र होइन, टेक क्षेत्रकै महत्वपूर्ण व्यक्तिहरुले पनि ह्वाट्सएपलाई बहिष्कार गर्दै सिग्नललाई पछ्याउन थालिसकेका छन् ।

यसैबीच पेटीएमका संस्थापक विजय शेखर शर्माले पनि ट्वीट मार्फत अझ विस्तृत रुपमा ह्वाट्सएप छोडेर सिग्नलतिर जान मानिसहरुलाई सुझाव दिएका छन् । 

उनले ह्वाट्सएपले एकाधिकारको दुरुपयोग गर्दै प्रयोगकर्ताहरुको गोपनीयतालाई हनन गरेको आरोप लगाएका छन् । शर्माले आफ्नो ट्वीटमा ‘हामी सिग्नलतिर अहिले नै जानुपर्छ’ भनेर लेखेका छन् । 

ह्वाट्सएपले केही दिनअघि आफ्नो गोपनीयताको नीति अपडेट गर्दै फेसबुक ब्राण्डसँग प्रयोगकर्ताको डेटा शेयर गर्ने खुलासा गरेपछि ह्वाट्सएप माथि मानिसहरुको रुचि घट्दै गएको छ । जसको प्रत्यक्ष फाइदा सिग्नलले पाएको छ । 

त्यसो त शर्माको पेटीएम ह्वाट्सएपको कडा प्रतिस्पर्धी भएको कारण पनि उनीबाट यस्तो ट्वीट आएको आशंका गर्न सकिन्छ ।

तर उनी बाहेक हाइक कम्पनीका सीईओ केभिन भारती मित्तलले पनि ट्वीट मार्फत केही दिन अघि अन्तराष्ट्रिय एपहरु तथा नेटवर्कको प्रभावको कारण भारतको आफ्नै म्यासेन्जर बन्न नसक्ने लेखेका थिए ।  

एलन मस्क बाहेक गोपनीयताका संरक्षक तथा अधिवक्ता एडवार्ड स्नोडेनले समेत सिग्नलमा स्विच हुन सुझाव दिएका थिए । 

टेक क्षेत्रका ठूला नामले सिग्नल एपको समर्थन गरिरहँदा यही साताभित्र धेरै मुलुकमा सिग्नल टप म्यासेजिङ एप बन्न सफल भएको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१