काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले आफ्नो नामको दुरुपयोग गरी फेसबुकमा भ्रामक जानकारी प्रकाशित भएको भन्दै सर्वसाधारणलाई सचेत गराएको छ । बिहीबार बिहान टेकपानाले फेसबुक बुस्ट गरेर नियामककै नाममा साइबर अपराध, नियमन शून्य शीर्षकमा समाचार प्रकाशित गरेकाे थियाे ।
एक सूचना जारी गर्दै प्राधिकरणले अनधिकृत पेज तथा सो पेजमा रहेका लिंकहरुलाई क्लिक नगर्न तथा आफ्नो कुनै पनि विवरण उपलब्ध नगराउन सबैलाई सचेत गराएको छ ।
साथै प्राधिकरणको फेसबुकमा हालसम्म कुनै आधिकारिक पेज/खाता नरहेको र यस्ता अनधिकृत कार्य गर्ने/गराउनेलाई प्रचलित कानून बमोजिम कारवाही गरिने व्यहोरा समेत जानकारी गराइएको छ ।
यसअघि नेपाल टेलिकम, एनसेल जस्ता कम्पनीको नाम दुरुपयोग गर्दै फिशिङ आक्रमण हुँदै आएकोमा अब भने नियामक नेपाल दूरसञ्चार प्राधिकरणकै नामबाट यस किसिमका गतिविधि हुन थालेका छन् ।
प्रयोगकर्तालाई झुक्याउन प्रतिष्ठित ब्राण्ड, कम्पनी तथा निकायको नाममा सामाजिक सञ्जालमा पेज बनाउने गतिविधि माैलाएकाे छ ।