काठमाडौं । नेपालको पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी ईसेवा १२ वर्षमा प्रवेश गरेको छ । ईसेवाले नगदरहित अर्थतन्त्रको परिकल्पना गर्दै सन् २००९ मा बेटा भर्जन रिलिज गरी २०१० जनवरी २५ बाट सेवा सुरू गरेको थियो ।
आज देशव्यापीरुपमा आर्थिक कारोबारको महत्वपूर्ण माध्यम बन्न ईसेवा सफल भएको छ । मोबाइल तथा इन्टरनेटको माध्यमबाट भुक्तानी गर्न सकिने सेवा दिएको ईसेवामा हाल खाता खोल्नेको संख्या ४० लाख नाघेको छ ।
यसैगरी अप्रत्यक्ष रूपमा करिब एक करोड ५० लाख जनसंख्याले ईसेवामार्फत सेवा लिइरहेको दावी कम्पनीले गरेको छ । हाल ईसेवाका देशभर करिब एक लाखभन्दा बढी एजेन्ट (ईसेवा जोन तथा पोइन्ट) रहेका छन् । हाल ईसेवामा मर्चेन्टको संख्या एक लाख ८५ हजार नाघिसकेका छन् ।
‘कुराकानीका लागि मात्र सीमित भएको मोबाइललाई हामीले वित्तीय कारोबार गर्ने महत्वपूर्ण माध्यम बनाउन सफल भएका छौं,’ १२औँ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा ईसेवाका प्रमुख कार्यकारी अधिकृत सुवास सापकोटाले भने, ‘आगामी दिनमा हामीले ईसेवालाई भुक्तानीका लागि मात्र नभएर आर्थिक कारोबारको वान स्टप सोलुसनका रूपमा विकास गर्दै लैजाने छौँ ।’
तीनजना युवाको परिकल्पनाबाट सुरू भएको एफवान सफ्ट कम्पनी अन्तर्गत ईसेवासँगै करिब एक दर्जन कम्पनी सञ्चालनमा छन् । याे ग्रुप अहिले एकहजार भन्दा बढी दक्ष जनशक्तिलाई रोजगारी प्रदान गर्न सफल भएको छ ।
ईसेवाले विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रम पनि गर्दै आएको छ । कम्पनीले हालसम्म विभिन्न विद्यालयलाई डिजिटल बनाउने उद्देश्यले करिब ६ सय वटा कम्प्युटर वितरण गरिसकेको छ ।
त्यस्तै ई–लाइब्रेरी स्थापना, नि:शुल्क रूपमा अत्याधुनिक किसिमका शैक्षिक सफ्टवेयर समेत वितरण गरेको छ । यस्तै नेपालको खेल क्षेत्रको विकासका लागि विभिन्न किसिमका सहयोग, खेल तथा खेलाडी प्रायोजन तथा अन्य विभिन्न सामाजिक गतिविधि गर्दै आएको कम्पनीले जनाएको छ ।
पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४
