काठमाडाैं । भन्सार पूर्वाधार निर्माणलाई सरकारले प्राथमिकतामा राखेको अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बताएका छन् । भन्सार प्रशासन सुधारको लक्ष्यसहित पूर्वाधार विकासको क्रमलाई जारी राखिएको उनले जानकारी दिए ।
मङ्गलबार ६९औँ अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले सरकारकै प्राथमिकताका कारण भन्सारसम्बन्धी समस्या कम हुँदै गएको बताए ।
‘भन्सार प्रशासनमा भएको सुधारले राजस्व चुहावटलगायतका क्रियाकलापमा पनि कम हुँदै गएका छन्,’ उनले भने ।
कार्यक्रममा उनले सरकार र निजी क्षेत्र एकअर्काका परिपूरक भएकाले मिलेर काम गर्न जोड दिए । सरकार सक्रिय नभए निजी क्षेत्र चलायमान नहुने र निजी क्षेत्र चलायमान नभए अर्थतन्त्र चलायमान नहुने भनाइ उनले राखे ।
सङ्कटको समयमा सरकारले निजी क्षेत्रलाई सहयोग गरेजस्तै निजी क्षेत्रले पनि राजनीतिक सङ्कट र अस्थिरताकाबीच सहयोग गर्नुपर्ने उनले बताए ।
कार्यक्रममा मन्त्री पौडेलले विभागले तयार गरेको नेपाल राष्ट्रिय एकद्वार प्रणाली उद्घाटन गरे । भन्सार प्रक्रियासँग सम्बन्धित सबै निकायलाई आबद्ध गर्ने गरी सञ्चालनमा ल्याइएको यो प्रणालीमा मङ्गलबार तीनवटा निकाय आबद्ध भएका छन् । चालू आर्थिक वर्षको अन्त्यसम्म सबै ४० वटा निकायलाई आबद्ध गर्ने विभागको योजना छ ।
कार्यक्रममा अर्थ मन्त्रालयका सचिव शिशिर ढुङ्गानाले सूचना प्रविधिमा आधारित भन्सार प्रणाली विकासमा सरकार लागिपरेको जानकारी दिए । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव वैकुण्ठ अर्यालले भन्सारलाई व्यापार सहजीकरणको निकायको रूपमा हेर्नुपर्ने बताए ।
भन्सार विभागका महानिर्देशक सुमन दाहालले कोरोना सङ्क्रमणकै अवस्थामा पनि विभागले भन्सार सहजीकरण र डिजिटल प्रविधिको उपयोगमा विशेष काम गरेको जानकारी दिए ।
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले एकद्वार प्रणालीको सफल कार्यान्वयनमा जोड दिए । पछिल्लो समय भन्सार प्रशासनमा व्यापक सुधार आएको उनको भनाइ थियो ।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ भन्सार प्रशासनमा अझै सुधारका काम बाँकी रहेको बताए । -गाेरखापत्रबाट