close

फेसबुकको बिजनेश मोडेल हिंसा फैलाउन उद्यत : टिम कुक

टेकपाना टेकपाना

माघ १७, २०७७ १८:२९

फेसबुकको बिजनेश मोडेल हिंसा फैलाउन उद्यत : टिम कुक

काठमाडौं । एप्पलका सीईओ टिम कुकले फेसबुकको व्यवसायिक मोडललाई हिंसासँग जोडेका छन् । फेसबुकले विज्ञापन कम्पनीहरुलाई बेच्न प्रयोगकर्ताको डेटा बिक्री गरेको, हिंसा फैलाउन मद्दत गरेको र कोरोना भाइरसको भ्याक्सिनप्रति मानिसको विश्वास घटाउने कुरामा भूमिका खेलेको आरोप कुकले लगाएका हुन् । 

बेल्जियमकाे राजधानी ब्रसेल्समा आयोजित डेटा गोपनीयता सम्बन्धी बृहत सम्मलेनमा बोल्दै कुकले त्यस्तो बताएका हुन् । त्यसो त कुकले फेसबुकको नाम कतै उल्लेख गरेनन् । तर उनले फेसबुकलाई नै लक्षित गरी आफ्नो भनाइ राखिरहेको कुरा भने स्पष्ट थियो । 

कुकले भने, ‘यदि प्रयोगकर्ताहरुलाई गलत बाटोमा निर्देशित गरेर, डेटाको दुरुपयोग गरेर व्यवसाय बनाइएको छ भने त्यो प्रशंसा होइन, घृणाको लायक हुन्छ ।’

साथै कुकले फेसबुकको रेकोमेन्ड एल्गोरिदमको पनि भर्त्सना गरेका छन्, जसले प्रयोगकर्ताहरुलाई अतिवादी समूहहरुको सजेसन दिन्छ । यस्तो किसिमको रेकोमेन्डेसनका लागि फेसबुक सर्वव्यापी आलोचित थियो ।

यसकारण उसले गत बुधबार मात्र अबबाट राजनीतिक समूहहरुलाई सिफारिस नगर्ने गरी आफ्नो एल्गोरिदमलाई संसोधन गर्ने बताएको थियो । 

साथै कुकले केही कम्पनीहरुले प्रयोगकर्ताहरुको इङ्गेजमेन्टलाई बढाउन भ्याक्सिनमा सार्वजनिक विश्वासलाई घटाउने किसिमका सामग्रीलाई पनि पुरस्कार प्रदान गर्ने गरेको बताए ।

‘एल्गोरिदमले भ्रामक सूचना तथा षडयन्त्रको सिद्धान्तहरुलाई थप मलजल गरिरहेको अवस्थामा सबै किसिमका इङगेजमेन्ट ठीक हुन्छन् र जति धेरै समय भयो त्यति राम्रो भन्ने जुन प्रविधिको सिद्धान्त छ, त्यसमा आँखा चिम्लिएर विश्वास गर्न सक्दैनौं,’ उनले भने । 

सिलिकन भ्यालीका नामुद प्रतिस्पर्धीहरुबीच चलिरहेको आन्तरिक संघर्षबीच कुकको यस्तो किसिमको वक्तव्य आएको हो ।

केही समयअघि एप्पलले एप ट्रयाकिङ ट्रान्सपरेन्सी फिचर आईफोनमा ल्याएको थियो । जसले फेसबुक तथा गुगल जस्ता कम्पनीलाई महत्वपूर्ण डिभाइस आइडेन्टिफायरमा एक्सेस गर्नुअघि प्रयोगकर्ताको अनुमति लिन बाध्य बनाउँछ ।

एप्पलको यही फिचर सार्वजनिक भएयता फेसबुक र एप्पलबीच संघर्ष जारी छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४