close

कोभिड असर : ११ अर्बले घट्यो दूरसञ्चार क्षेत्रको आम्दानी

टेकपाना टेकपाना

माघ २०, २०७७ १७:१४

कोभिड असर : ११ अर्बले घट्यो दूरसञ्चार क्षेत्रको आम्दानी

काठमाडौं । दूरसञ्चार क्षेत्रको आम्दानी अर्बमै सीमित भएको छ । कोभिड १९ का कारण बजार चलायमान नहुँदा दूरसञ्चार क्षेत्रको आम्दानी ठूलो मात्राले घटेको हो । जसले गर्दा बजार ९० अर्बको हाराहारीमै सीमित हुने देखिएको छ ।

यही पुस मसान्तसम्म नेपाल दूरसञ्चार प्राधिकरणमा सेवा प्रदायकले बुझाएको आर्थिक विवरण अनुसार गत आर्थिक वर्ष २०७६/०७७ मा दूरसञ्चार सेवा प्रदायकको कुल आम्दानी ८७ अर्ब ३० करोड रहेको छ । जसमा ५७ वटा कम्पनीको मात्रै आर्थिक विवरण रहेको छ ।

प्राधिकरण स्राेतअनुसार कुल १ सय १६ वटा कम्पनीमध्ये केही इन्टरनेट सेवा प्रदायकले विवरण बुझाउन बाँकी छ ।

अधिकांश सबै ठूला कम्पनीहरुले वित्तीय विवरण बुझाइसकेको हुँदा अब ३ अर्बभन्दा माथि थप हुने देखिँदैन । त्यसैले अघिल्लो आवमा दूरसञ्चार क्षेत्रको कुल आम्दानी ९० अर्बको हाराहारीमा सीमित हुने देखिएको छ ।

यो आर्थिक वर्ष २०७५/०७६ को तुलनामा झन्डै ११ अर्ब कम हो । प्राधिकरणका अनुसार उक्त आवमा दूरसञ्चार क्षेत्रको आम्दानी १ खर्ब १ अर्ब भन्दा बढी रहेको थियो । यसरी ठूलाे अंकले बजार खुम्चिनुको कारण कोरोनालाई लिइएको छ ।

कोभिडका समयमा इन्टरनेटमा आधारित कलको बढ्दो प्रयोगले सबैभन्दा बढी आम्दानी हुने टेलिकम कम्पनीको फोन कल घट्याे ।

त्यतिमात्रै नभएर अन्तराष्ट्रिय यात्रा नहुँदा रोमिङ कल समेत ठूलो मात्राले घटेको छ । कोभिडले गर्दा टेलिकम सेवा प्रदायकको ठूलो आम्दानी स्रोतको रोमिङ र आन्तरिक कल दुवैमा देखिएको असर दूरसञ्चार क्षेत्रको कुल आम्दानीमा देखिएको हुन सक्ने प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्याल बताउँछन् ।

अर्यालका अनुसार अहिले प्राप्त कम्पनीको तथ्याङ्क नै अन्त्तिम नभएकाले यसमा केही तलमाथि हुन सक्नेछ । तर, कोभिडका कारण बजार भने अघिल्लो वर्षको तुलनामा खुम्चिएको उनी स्वीकार गर्छन् ।

प्राधिकरणको तथ्याङ्क अनुसार गत आवमा सबैभन्दा बढी टेलिकम सेवा प्रदायक कम्पनीहरुले आम्दानी गरेका छन् । नेपाल टेलिकम र एनसेलले मात्रै गत आवमा करिब ७१ अर्ब आम्दानी गरेका छन् ।

जसमध्ये गत आवमा एनसेलले ४६ अर्ब ७६ करोड ८३ लाख ८८ हजार २१६ रुपैयाँ आम्दानी गर्न सफल भएको छ । जुन अघिल्लो आवको तुलनामा ८ अर्ब कम हो । एनसेलले आव २०७५/०७६ मा ५५ अर्ब रहेको थियो ।

त्यस्तै नेपाल टेलिकमले गत आबमा ३४ अर्ब ७३ करोड ३३ लाख ३४ हजार ६०० रुपैयाँ आम्दानी गरेको छ । टेलिकमले पनि आव २०७५/०७६ तुलनामा झन्डै डेढ अर्ब आम्दानी गुमाएको छ । टेलिकमले उक्त आवमा ३६ अर्ब आम्दानी गरेको थियो ।

यो अवधिमा इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंककाे आम्दानी पनि ठूलो मात्राले खुम्चिएको छ । आम्दानीको हिसाबले तेस्रो ठूलो दूरसञ्चार सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले गत आवमा २ अर्ब ९५ करोड मात्र आम्दानी गरेको छ ।

जुन आव २०७५/०७६ को तुलनमा २ अर्बले कमी हो । वर्ल्डलिंकले उक्त आवमा ५ अर्बभन्दा बढी आम्दानी गरेको प्राधिकरणको तथ्याङ्कले देखाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१