close

वाईफाईका लागि ५ गिगाहर्ज ब्याण्ड बल्ल निःशुल्क

टेकपाना टेकपाना

माघ २१, २०७७ १५:६

वाईफाईका लागि ५ गिगाहर्ज ब्याण्ड बल्ल निःशुल्क

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले ५ गिगाहर्ज ब्याण्ड फ्रिक्वेन्सी नि:शुल्क रुपमा प्रयोग गर्न मिल्ने बनाउने भएको छ । त्यसका लागि प्राधिकरणले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमार्फत रेडियो फ्रिक्वेन्सी नीति निर्धारण समितिलाई सिफारिस गरेको हो ।

प्राधिकरण बोर्डले ५.१५० देखि ५.७२५ गिगाहर्ज (५ गिजाहर्ज ब्याण्ड) फ्रिक्वेन्सी ब्याण्ड शेयर बेसिसमा प्रयोग गर्न सक्ने गरी लाइसेन्सविहीन (आईएसएम) ब्याण्डको रुपमा तोक्न समितिलाई सिफारिस गरेको हो ।

यसअघि आईएसएम ब्याण्डको रुपमा २.४ गिगाहर्ज र ५.८ गिगाहर्ज रहेको थियो । त्यसमा ५ गिगाहर्जलाई पनि आईएसएम ब्याण्डकै रुपमा अघि बढाउने तयारी भएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्यालका अनुसार ५.३५ गिगाहर्जसम्म लाइसेन्स ब्याण्ड हो । उक्त ब्याण्ड प्रयोगका लागि सेवा प्रदायकले प्राधिकरणको अनुमतिपत्र पाएको हुनपर्छ, फ्रिक्वेन्सी दस्तुर बुझाउनुपर्छ ।

तर, ५ गिगाहर्जको हकमा नि:शुल्क उपलब्ध गराउने योजनाका साथ समितिलाई सिफारिस भएको हो । ५ गिगाहर्ज फ्रिक्वेन्सी ब्याण्डलाई लो-पावर डिभाइस पनि भनिन्छ ।

अर्याल भन्छन, ‘सरकारले यो क्षेत्रलाई प्रवर्द्धन गर्नका लागि लाइसेन्स लिनु नपर्ने, फ्रिक्वेन्सी दस्तुर बुझाउनु नपर्ने गरी यो ब्याण्ड सिफारिस गरेको हो । यसका लागि अन्तर्राष्ट्रिय प्रचलनको समेत अध्ययन गरेर त्यसबाट आएको निचोडका आधारमा समितिलाई सिफारिस गरिएको हो ।’

प्राधिकरणले समितिलाई गरेको सिफारिसमा उक्त ब्याण्डको फ्रिक्वेन्सी प्रयोगका लागि केही सर्त भने तोकिएको छ । जसमा ट्रान्समिट पावर बढीमा ४ वाट भन्दा बढी हुन पाउने छैन । त्योभन्दा पनि यस्ता आईएसएम ब्याण्ड ब्याकबोन नेटवर्कमा प्रयोग गर्न नपाइने उल्लेख गरिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१