भक्तपुर । चाँगुनारायण नगरपालिकाले आफ्नो क्षेत्रभित्र भएका विभिन्न डेटा, सूचना एवं जानकारीलाई सार्वजनिक गर्न र सहज पँहुच पुर्याउने उद्देश्यका साथ जीआईएस आधारित नगरपालिकाको ओपन डेटा प्लेटफर्म निर्माण गर्ने भएको छ ।
उक्त ओपन डेटा प्लेटफर्म निर्माणका लागि नगरपालिकाले सरोकारवालाहरुसँग २० गते सोमबार कार्यशाला गाेष्ठीकाे आयोजना गरेको थियो ।
नगरपालिकाको दैनिक कार्य सम्पादनमा डेटा एवम् जानकारीहरु उत्पादन र प्रयोग सँगसँगै हुने र यसरी उत्पादन भएको डेटाको यथोचित व्यवस्थापन एवं भण्डारण गर्ने प्रणाली नगरपालिकामा छैन ।
यसैकारण आवश्यक समयमा रिपोर्ट उत्पादन एवं प्रगति मापन गर्न नसकिएको नगरपालिकाको सूचना प्रविधि अधिकृत सिद्धान्त न्यौपानेले बताए ।
तर अब यस प्रणालीको निर्माणसँगै नगरपालिकाको विभिन्न शाखा एवं निकायहरुबाट दैनिक विभिन्न ढाँचामा सूचना र जानकारी एकीकृत गर्ने र जीआईएस म्यापिङ गरी सार्वजानिक पोर्टलमा प्रकाशन हुने उनले बताए ।
यसरी प्रकाशन भएका डेटा एवं तथ्याकं सर्वसाधारणले आफूले चाहेको ढाँचामा डाउनलोड गर्न सकिने गरी ओपन डेटा प्लेटफर्म निर्माण हुन लागेको नगर प्रमुख सोमप्रसाद मिश्रले बताए ।
अन्तर्राष्ट्रिय समाजमा ओपन डेटाको अवधारणा विकसित भइसके पनि नेपालमा भने हालसम्म पनि अझै नौलो विषय भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले बताए ।
सातौं नगर सभाबाट यस शीर्षकमा बजेट नै व्यवस्थापन गरी निर्माण गरेको चाँगुनारायण नगरपालिका पहिलो हुन सक्ने उनी बताउँछन् ।
सार्वजानिक निकायहरुले निश्चित तथ्याकं एवं जानकारी चौमासिक रुपमा प्रकाशन गर्नुपर्ने कानूनी प्रावधान भए पनि कतिपय सरकारी निकायहरुले यो अभ्यास गरिरहेका छैनन् ।
यस्तो परिस्थितिमा ओपन डेटा प्लेटफर्म निर्माण गरी सफलतापूर्वक सञ्चालनमा ल्याउनु चाँगुनारायण नगरपालिकालाई अर्को चुनौतीको हुने बताइएको छ ।
यस प्लेटफर्मले नगरपालिकामा रहेको विभिन्न प्रणाली एवं सफ्टवेयरमा उत्पादन भएका रिपोर्टहरुलाई डेटाको रुपमा विकास गरी एपीआई मार्फत एकीकृत गरी जीआईएस नक्साकंन समेत गर्नेछ ।
यसरी एकीकृत गरिएका डेटालाई एमआईएस र जीआईएस दुई माध्यमबाट हेर्न र डाउनलोड गर्न सकिनेछ । नगरपालिकाले हालसम्म प्रयोग गरिरहेको सफ्टवेयर र प्रणालीहरु यस किसिमका छन् :
- विद्युतीय घरनक्सा पास प्रणाली
- दर्ता चलानी तथा सिफारिस व्यवस्थापन प्रणाली
- नगर प्रोफाइल व्यवस्थापन प्रणाली
- राजश्व एवं लेखा व्यवस्थापन प्रणाली
- परीक्षा व्यवस्थापन प्रणाली
- स्वास्थ्य तथ्याकं व्यस्थापन प्रणाली
- शिक्षा तथ्याकं व्यवस्थापन प्रणाली
- जिन्सी व्यवस्थापन प्रणाली
- चाँगुनारायण टुरिस्ट मोबाइल एप्लिकेसन
- विपद् सूचना पोर्टल
यी प्रणालीमा सार्वजानिक गर्न लायक एवं आवश्यक सूचना, जानकारी, तथ्याकंलाई एकीकृत गरी प्लेटफर्ममा स्वचालित रुपमा सार्वजानिक गर्नेछ ।
पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१
