close

अस्ट्रेलिया सरकारसँग हार्‍यो गुगल, समाचार माध्यमलाई पैसा तिर्न तयार

टेकपाना टेकपाना

माघ २४, २०७७ २१:६

अस्ट्रेलिया सरकारसँग हार्‍यो गुगल, समाचार माध्यमलाई पैसा तिर्न तयार

काठमाडौं । अस्ट्रेलियाको सरकार र गुगलबीच लामो समयदेखि जारी लडाईमा अन्ततः गुगलले हारको सामना गर्नुपरेको छ । गुगल अस्ट्रेलियामा रहेका सात वटा सञ्चार माध्यमलाई समाचारका लागि रकम दिनका लागि तयार भएको हो ।

भुक्तानीमा आधारित समाचारका लागि गुगलले अस्ट्रेलियामा आफ्नो नयाँ सेवा न्युज शोकेस समेत प्रस्तुत गरेको छ । यसअघि गुगलले ब्राजिल र जर्मनीमा न्युज शोकेस प्रस्तुत गरेको थियो ।

यस अघि अस्ट्रेलिया सरकारले रकम भुक्तानीका लागि बाध्य बनाएको खण्डमा उक्त देशमा आफ्नो सेवा बन्द गर्ने चेतावनी दिएको थियो । गत महिना गुगलका अस्ट्रेलिया तथा न्युजिल्याण्डका प्रबन्ध निर्देशक मेल सिल्भाले एक संसदीय सुनुवाईको क्रममा प्रस्तावित कानून कार्यान्वयनमा ल्याएको खण्डमा आफूहरुसँग अस्ट्रेलिया छोड्नुको विकल्प नरहेको बताएका थिए ।

सिल्भाको जवाफमा अस्ट्रेलियाली प्रधानमन्त्री स्कट मरिसनले आफू यस किसिमको धम्की उपर कुनै टिप्पणी नजनाउने बताएका थिए । अस्ट्रेलियाको संसदमा यो विषयलाई लिएर लामो बहस चलेको थियो ।

गुगल र फेसबुक जस्ता कम्पनीहरुले मिडिया हाउसहरुका सामग्री उपयोग गर्दा त्यस वापत रकम भुक्तानी गर्ने वा नगर्ने भन्ने विषयमा भएको बहसमा प्रविधि कम्पनीहरु भने सरकारको प्रस्ताव विरुद्ध खडा भएका थिए ।

गुगलका अलावा फेसबुकले समेत सरकारको उक्त कानूनको विरोध गरेको थियो । स्मरणीय कुरा के छ भने अनलाइन विज्ञापनको बजारमा गुगलको हिस्सा ५३ प्रतिशत रहेको छ भने फेसबुकको २३ प्रतिशत छ । नयाँ कानूनसँगै अब गुगल तथा फेसबुकले त्यसको उलंघन गरेको खण्डमा चर्को जरीवाना तिर्नुपर्ने हुनुक्छ ।

एजेन्सी ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१