close

इन्टरनेट स्लो भयो ? घरमै बसेर यसरी गर्नुहोस् समाधान

टेकपाना टेकपाना

फागुन ५, २०७७ १२:७

इन्टरनेट स्लो भयो ? घरमै बसेर यसरी गर्नुहोस् समाधान

काठमाडौं । स्लो इन्टरनेट, आम इन्टरनेट सेवाग्राहीले भोगिरहेको एउटा समस्या हो । तर हामी धेरैजसोले सेवा प्रदायकलाई नै गाली गरिरहेका हुन्छौं । कतिपय अवस्थामा स्लो इन्टरनेट हुनुका पछाडि हाम्रै हात हुन सक्छ । आज हामी घरमै बसेर तपाईंले इन्टरनेटको स्पिडमा समस्यालाई हल गर्न सक्ने टिप्स सिकाउँदै छौं ।

१. डिभाइसलाई चेक गर्नुहोस् 

इन्टरनेट स्लो हुनुको पछाडि सधै सेवाप्रदायकको मात्र दोष हुँदैन । यसैले सेवा प्रदायककहाँ पुग्नुअघि कहिलेकाहिँ आफ्नो डिभाइसलाई पनि चेक गर्ने बानी बसाल्नुहोस् ।

के तपाईंका डिभाइसहरु पाँच वर्षभन्दा पुराना छन् ? तपाईंको डिभाइसमा एकैपटक धेरै एप वा ट्याबहरु खुलेका छन् कि ? घरका अन्य डिभाइसमा राम्रै इन्टरनेट चलेको छ, तर निश्चित फाेन/पीसीमा मात्र इन्टरनेट स्लाे भएकाे हाे कि ?

यदि माथि भनिएका सबै कुराहरु सही हुन् भने बुझ्नुहोस् कि तपाईंको ग्याजेट पुरानो भइसकेको छ । वा तपाईं धेरै ब्याण्डविथ खपत गर्ने एपहरु एकैपटक प्रयोग गर्दै हुनुहुन्छ ।

जसमा नेट स्लो हुनुका पछाडिकाे कारण तपाईंको इन्टरनेट सर्भिस नभएर ती एपहरु हुन् । पुराना ग्याजेटहरुमा पर्याप्त पावर र मेमोरी हुँदैन । त्यसैले यसले स्ट्रिमिङ भिडियो, भिडियो गेमको ग्राफिक्स लगायतका माग पुरा गर्न सक्दैन । 

के गर्ने ? 

डिभाइसलाई रिस्टार्ट गर्नुहोस् । अधिकांश प्रविधि जानकारले तपाईंलाई दिने सुझाव पनि यही नै हो । चाहे अरु नै इस्यु किन नहोस् । र यसले काम पनि गर्छ ।

आवश्यक नभएका ट्याब, एप तथा साइटहरु बन्द गरिदिनुहोस् । ग्याजेटलाई एकपटकमा एउटा मात्र काम सुम्पिनुहोस् । 

उदाहरणका लागि एउटा डिभाइसबाट भिडियो कल मात्र गर्नुहोस्, अरु नगर्नुहोस् । भिडियो कल गर्दै गुगल डक्समा काम नगर्नुहोस् । यसो गरे पुरानो डिभाइसले पनि शतप्रतिशत काम गर्न सक्छ । 

२. राउटर चेक गर्नुहोस् 

समस्या तपाईंको घरभित्रै अर्थात् तपाईंको वाईफाई नेटवर्कमा छ वा आईएसपीबाट आउने इन्टरनेट कनेक्सनमा छ, पत्ता लगाउनुहोस् । समस्या तपाईंको राउटरमा पनि हुनसक्छ । 

वाईफाई इन्टरनेटलाई राउटर प्रयोग गरेर घरभित्रका विभिन्न भागमा राखिएका ग्याजेट, डुअरबेल रिङ, गुगल होम डिभाइस, ल्यापटप र स्मार्ट टिभी सबैमा पुर्‍याइरहनु भएको हुन्छ ।

तपाईंको आईएसपीबाट आएको इन्टरनेट त्यही राउटरबाट राउट हुने हुँदा स्लो इन्टरनेटको समस्या त्यसमा पनि रहेको हुनसक्छ । 

के गर्ने ?

सबैभन्दा पहिले मोडेमलाई रिबुट गर्नुहोस् र राउटरलाई कम्तिमा एक मिनेटका लागि टर्नअफ गर्नुहोस् । त्यसपछि पुन: अन गर्नुहोस् । ओक्ला जस्ता नि:शुल्क स्पिड टेस्टिङ एपको प्रयोग गर्नुहोस् ।

राउटर नजिक उभिनुहोस् र रिजल्टको स्क्रिन ग्रयाब लिनुहोस् । अब अर्को कोठामा जानुहोस् र त्यहाँ पनि स्पिड टेस्ट गरेर दुवै नतिजालाई तुलना गर्नुहोस् । 

यदि घरमा सबै भागमा परिणाम एउटै छ भने समस्या तपाईंकै आईएसपीमा भएको हुनुपर्छ । यदि परिणाम असमान छन् भने तपाईं ‘डेड जोन’मा भएको हुनसक्छ । 

रिजल्ट्समा तीन नम्बर हुन्छन्, जसको अर्थ यस्ता छन् । 

१. पिङ (ल्याटेन्सी) ले तपाईंको कनेक्सनको रियाक्सन टाइमलाई परीक्षण गर्दछ । वा तपाईंले कतिको चाँडाे रेस्पोन्स पाउनुभयो भन्ने कुरा चेक गर्दछ । न्यून नम्बर राम्रो हुन्छ । टाइमिङ महत्वपूर्ण हुन एप्लिकेसनहरु जस्तै भिडियो गेमहरुमा २० भन्दा मुनी एकदमै राम्रो हुन्छ ।

२. डाउनलोड स्पिडले इमेज, कन्टेन्ट र भिडियो सामग्रीहरु सर्भरबाट कतिको चाँडाे तपाईंको स्क्रिनसमक्ष आइपुग्छ भनेर मापन गर्दछ । एफसीसीको अनुसार २५ एमबीपीएसभन्दा माथिको नम्बरलाई राम्रो मानिन्छ ।

३. अपलोड स्पिडले तपाईंले इनपुट दिइरहनु भएको सामग्री तपाईंले एक्सेस गरेको सर्भरमा कतिको चाँडाे पुगिरहेको छ भनेर मापन गर्दछ । सामान्यत तीन एमबीपीएसभन्दा माथिलाई फास्ट मान्ने गरिन्छ ।

अर्काेतर्फ राउटर कहाँ राख्नुभएकाे छ भन्ने कुराले इन्टरनेट स्पिडमा असर पार्छ । तपाईं वाईफाई राउटरलाई आफ्नो आँखाको उचाईं वा त्यसभन्दा माथि राख्ने कोसिस गर्नुहोस् ।

यसबाट तपाईंको वाईफाई सिग्नल राम्रो हुनेछ । घरको कुनामा सटाएर राउटर राख्दा यसको सिग्नल लस हुन सक्ने सम्भावनालाई ध्यानमा राख्ने गर्नुहोस् ।  

३. राउटरलाई अद्यवाधिक गर्नुहोस् र मोडेमलाई व्यवस्थापन गर्नुहोस् 

अधिकांश मानिसहरुको समस्या वाईफाई नेटवर्कसँग हुने गर्छ । यदि तपाईं पुरानो घरमा बस्नुहुन्छ भने घरको प्लास्टरभित्र वायरमा समस्या भएको हुनसक्छ जसले सिग्नललाई प्रभावित पार्दछ । 

के गर्ने ? 

यदि तपाईंलाई बलियो सिग्नल चाहिएको छ भने ल्यापटपमा सिधै इथरनेट केबल जोड्नुहोस् । स्पष्ट भिडियो कलका लागि यो प्रयोग गरेको उचित हुन्छ । 

यसबाहेक तपाईं अरु काम पनि गर्न सक्नुहुन्छ । आफ्नो राउटरलाई घरको केन्द्र भागमा राख्नुहोस् । त्यसको सिग्नललाई अवरोध पुर्याउने तत्वहरुलाई हटाइदिनुहोस् । 

अर्को कुरा भनेको घरमा भएका डिभाइस तथा व्यक्तिहरुलाई पुग्ने आफूसँग पर्याप्त ब्याण्डविथ, इन्टरनेट छ कि छैन थाहा पाइराख्नुहोस् । यसका लागि अनलाइन ब्याण्डविथ क्याल्कुलेटरले राम्रो काम गर्दछ । 

यदि एउटै इन्टरनेट प्लान प्रयोग गरेको ४/५ वर्षभन्दा धेरै भइसकेको छ भने आफ्नो आईएसपीसँग सम्पर्क गर्नुहोस् र केही अपग्रेड भएको छ कि हेर्नुहोस् । 

त्यसो त तपाईंले सेवाप्रदायकले बाचा गरेको जति स्पिड कहिल्यै पनि पाउन सक्नुहुन्न । तर तपाईंको प्लानको नजिकको रेन्जमा भने पाउनुहुन्छ । 

यदि आफूले लिएको प्लान पर्याप्त लागेन भने आइएसपीसँग सम्पर्क गरेर त्यसलाई बढाउनुहोस् । 

यदि तपाईं नयाँ राउटरलाई अपग्रेड गर्ने सोचमा हुनुहुन्छ भने त्यो पनि राम्रो कुरा हो । तर अब तपाईंले मेस सिस्टममा लगानी गर्नु पर्ने समय आएको छ । परम्परागत राउटरभन्दा फरक यसले ग्यापहरुलाई मेट्ने काम गर्दछ । 

४. ब्रोडब्याण्ड छैन ? चिन्ता नलिनुहोस् 

तपाईंले अधिकांश समय अपनाउनु पर्ने उपाय भनेका माथिका तीन वटा हुन् । यदि तपाईंको भौगोलिक अवस्था जटिल छ, जसले तपाईंको ब्रोडब्याण्ड स्पिडलाई असर गरिरहेको छ भने स्मार्टफोनलाई कम्प्युटरमा जोडेर प्रयग गर्नुहोस् । 

आईफोनको सेटिङमा गएर पर्सनल हट्सपट खोल्नुहोस् । एन्ड्रोइड हो भने सेटिङ, कनेक्सन, मोबाइल हट्सपट हुँदै टेथरिङमा जानुहोस् ।

हट्सपट सेटअप गर्न अनस्क्रिन डाइरेक्सनलाई पालना गर्नुहोस् । यदि यसले काम गरेन भने आफ्नो सेवा प्रदायकलाई कल गर्नुहोस् । तपाईंलाई राम्रो फोन वा राम्रो प्लानको आवश्यकता परेको हुनसक्छ । 

साथै तपाईंले मोबाइल हट्सपट डिभाइस वा डेटा प्लान पनि किन्न सक्नुहुन्छ । यसले भने तपाईंलाई राम्रो सिग्नल प्रदान गर्दछ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३