close

स्मार्टफोनमा धक्का लागेपछि सुँगुर पाल्दै ह्वावे

टेकपाना टेकपाना

फागुन ७, २०७७ १८:४६

स्मार्टफोनमा धक्का लागेपछि सुँगुर पाल्दै ह्वावे

काठमाडौं । निवर्तमान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रिय सुरक्षालाई मध्यनजर गर्दै ह्वावेलाई प्रतिबन्ध लगाए । प्रतिबन्धमात्रै नभएर अमेरिकी कम्पनीले ह्वावेलाई कुनै पनि सामान बिक्रि गर्न नपाउने निर्णय गरे । यो निर्णय ह्वावेको लागि सबैभन्दा ठूलाे चुनौती बनिरहेकाे छ ।

स्मार्टफोन निर्माणका लागि आवश्यक पर्ने धेरैजसो महत्वपूर्ण वस्तु अमेरिकी कम्पनीले नै उत्पादन गर्ने हुँदा ह्वावेलाई ठूलो धक्का लागेको छ । चिप उपलब्ध नहुनु र एन्ड्रोइड प्लेटर्फम नै प्रयोग गर्न नपाउँदा कम्पनीको मोबाइल व्यवसाय विस्तारै सेलाउँदै गएको छ ।

यसबीच ह्वावेले आफूलाई बलियो भने बनाइरहेको छ । उसले एन्ड्रोइड जस्तै आफ्नै प्लेटफर्म निर्माण गरिसकेको छ । गुगल प्ले स्टोर जस्तै आफ्नै छुट्टै एप ग्यालरी पनि विकास गरिसकेको छ ।

ह्वावेका सीईओ रेन जेङफेईले पनि स्मार्टफोन व्यवसाय नछाड्ने बताइसकेका छन् । तर, कम्पनी विस्तारै अन्य क्षेत्रमा आफूलाई विस्तार गर्न लाग्नुकाे पछाडि स्मार्टफाेनमा बेहाेरेकाे धक्का नै हाे भनेर सजिलै बुझ्न सकिन्छ ।

अघिल्लो हप्तामात्रै कम्पनीले चीनको ताइवानमा कोइलाखानीमा लगानी गरेको थियो । उक्त कोइला खानीमा आर्टिफिसियल इन्टिलिजेन्स (एआई) को प्रयोग गरी त्यसको क्षमता विस्तार गर्ने भन्दै झन्डै सय जना ह्वावेका इन्जिनियर त्यहाँ पठाइएको छ ।

कोइला खानीमा लगानी गरेको एक हप्ता नबित्दै अहिले कम्पनीले सुँगुर फार्मिङमा पनि लगानी गरेको समाचार चर्चित बनिरहेकाे छ ।

चीन सुँगुर उत्पादनमा विश्वमै सबैभन्दा अघि छ । चीनमा उत्पादन हुने सुँगुर विश्वको कुल उत्पादनको आधाभन्दा बढी हुने बताइन्छ ।

सुँगुर फार्मिङलाई विस्तार गर्ने योजनाका साथ त्यहाँ पनि एआई प्रविधिको प्रयोग गर्ने गरी कम्पनीले लगानी गरेको छ । यसरी विभिन्न क्षेत्रमा लगानी विस्तार गर्नुको उद्देश्य ह्वावेलाई आगामी दिनमा प्रविधि विकासमा सहयोग पुगोस् भन्ने रहेको जनाइएको छ ।

-एजेन्सी

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१