मङ्गल ग्रहको सतह छुनुअघि खिचिएको रोबटको तस्वीर
काठमाडाैं । अमेरिकी अन्तरिक्ष सम्बन्धी निकाय नासाले मङ्गल ग्रहबाट उसको पर्सिभिअरन्स रोभरले पठाएको एउटा अद्भुत तस्वीर सार्वजनिक गरेको छ । उक्त तस्वीरमा मोटर गाडीझैँ देखिने रोबट अवतरणका लागि मङ्गल सतहमा झर्दै गरेको देखिन्छ।
याे तस्वीर रोबटलाई झुलाउँदै सतहमा राख्ने रकेट क्रेडलले पठाएको हो । पर्सिभिअरन्सले आफूसँग ठूलो परिमाणमा विवरणहरू सङ्कलन गरेको छ, जुन उसले क्रमैसँग पृथ्वीमा पठाउनेछ।
अन्य तस्वीरमध्ये एउटा भूउपग्रहबाट खिचिएको छ, जसले प्यारासुटमार्फत् अवतरणको अवस्था देखाउँछ।

यसले प्रविधिको अद्भुत सफलता देखाउँछ किनकि ‘द मार्स रिकनेसन्स अर्बिटर’ नामको भूउपग्रह तस्वीर खिच्ने बेला पर्सिभिअरन्सभन्दा झण्डै ७ सय किलोमिटर पर थियो । र त्यो प्रतिसेकेन्ड ३ किलोमिटरका दरले मङ्गल ग्रहलाई घुमिरहेको थियो ।

माथिको यो तस्बिर रोभरले मङ्गल ग्रहको सतह छुनुभन्दा झण्डै दुई मिटरजति माथिबाट खिचिएको हो । इञ्जिनियरहरूले पर्सिभिअरन्सको अवस्था राम्रो रहेको विवरण आफूहरूले पाएको बताएका छन् ।
पर्सिभिअरन्स रोभर जेजेरो क्रेटर नाम दिइएको मङ्गल ग्रहको एउटा लक्षित सतहमा अवतरण गरेको हो । जहाँ अर्बौँ वर्षअघि एउटा ताल रहेको र त्यसले जीवहरूलाई बाँच्न सहयोग गरेको हुन सक्ने ठानिएको छ।
जेजेरो क्रेटरको विस्तृत तस्बिरहरू भने अर्को साता आउनेछ जतिखेर पर्सिभिअरन्सले आफ्नो बाटो पहिल्याउने उपकरण ठड्याउने छ जसमा मुख्य वैज्ञानिक क्यामेराहरू राखिएका छन् ।

एउटा कार जत्रो आकार रहेको अन्तरिक्ष यानमा जीवावशेष अध्ययन गर्नका लागि आवश्यक पर्ने वैज्ञानिक उपकरणहरू राखिएको छ ।
६ वटा पाङ्ग्रा भएको उक्त रोभर सात महिनाको यात्रामा ४७ करोड किलोमिटर यात्रा गरेर मङ्गल ग्रहनजिक पुगेको हो । नासाले आउँदा केही दिनमा थप विवरणहरू सार्वजनिक गर्ने वाचा गरेको छ ।
-बीबीसी
पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१
