काठमाडाैं । अमेरिकी अन्तरिक्ष सम्बन्धी निकाय नासाले मङ्गल ग्रहबाट उसको पर्सिभिअरन्स रोभरले पठाएको एउटा अद्भुत तस्वीर सार्वजनिक गरेको छ । उक्त तस्वीरमा मोटर गाडीझैँ देखिने रोबट अवतरणका लागि मङ्गल सतहमा झर्दै गरेको देखिन्छ।
याे तस्वीर रोबटलाई झुलाउँदै सतहमा राख्ने रकेट क्रेडलले पठाएको हो । पर्सिभिअरन्सले आफूसँग ठूलो परिमाणमा विवरणहरू सङ्कलन गरेको छ, जुन उसले क्रमैसँग पृथ्वीमा पठाउनेछ।
अन्य तस्वीरमध्ये एउटा भूउपग्रहबाट खिचिएको छ, जसले प्यारासुटमार्फत् अवतरणको अवस्था देखाउँछ।
७ सय किलोमिटर पर रहेको भूउपग्रहबाट खिचिएको प्यारासुटमार्फत् अवतरणको अवस्था देखाउने तस्वीर
यसले प्रविधिको अद्भुत सफलता देखाउँछ किनकि ‘द मार्स रिकनेसन्स अर्बिटर’ नामको भूउपग्रह तस्वीर खिच्ने बेला पर्सिभिअरन्सभन्दा झण्डै ७ सय किलोमिटर पर थियो । र त्यो प्रतिसेकेन्ड ३ किलोमिटरका दरले मङ्गल ग्रहलाई घुमिरहेको थियो ।
मङ्गल ग्रहमा रोभरको अग्रभागबाट देखिएको दृश्य जसमा रोबटको एउटा हाते भागको छायाँ देखिन्छ।
माथिको यो तस्बिर रोभरले मङ्गल ग्रहको सतह छुनुभन्दा झण्डै दुई मिटरजति माथिबाट खिचिएको हो । इञ्जिनियरहरूले पर्सिभिअरन्सको अवस्था राम्रो रहेको विवरण आफूहरूले पाएको बताएका छन् ।
पर्सिभिअरन्स रोभर जेजेरो क्रेटर नाम दिइएको मङ्गल ग्रहको एउटा लक्षित सतहमा अवतरण गरेको हो । जहाँ अर्बौँ वर्षअघि एउटा ताल रहेको र त्यसले जीवहरूलाई बाँच्न सहयोग गरेको हुन सक्ने ठानिएको छ।
जेजेरो क्रेटरको विस्तृत तस्बिरहरू भने अर्को साता आउनेछ जतिखेर पर्सिभिअरन्सले आफ्नो बाटो पहिल्याउने उपकरण ठड्याउने छ जसमा मुख्य वैज्ञानिक क्यामेराहरू राखिएका छन् ।
एक हजार किलोग्राम वजन भएको उच्च प्रविधियुक्त रोभरमा सातवटा उपकरण, कैयौँ क्यामेरा, माइक्रोफोन र एउटा ठूलो खन्ने उपकरण जडित छ ।
एउटा कार जत्रो आकार रहेको अन्तरिक्ष यानमा जीवावशेष अध्ययन गर्नका लागि आवश्यक पर्ने वैज्ञानिक उपकरणहरू राखिएको छ ।
६ वटा पाङ्ग्रा भएको उक्त रोभर सात महिनाको यात्रामा ४७ करोड किलोमिटर यात्रा गरेर मङ्गल ग्रहनजिक पुगेको हो । नासाले आउँदा केही दिनमा थप विवरणहरू सार्वजनिक गर्ने वाचा गरेको छ ।