close

ह्वावे फ्ल्यागशिपबाट एन्ड्रोइड आउट

टेकपाना टेकपाना

फागुन १२, २०७७ १०:५६

ह्वावे फ्ल्यागशिपबाट एन्ड्रोइड आउट

काठमाडौं । अमेरिकी व्यापार प्रतिबन्धले अस्तव्यस्त बनेको चिनियाँ प्रविधि क्षेत्र जोय बइडेनको आगमनसँगै निकै आशावादी बनेको थियो । तर चिनियाँ प्रविधि प्रति उनको दृष्टिकोण पनि उत्तिकै कडा पाएपछि अहिले चिनियाँ प्रशासनको आशामाथि तुसारापात लागेको छ । 

यसैबीच ह्वावले यस वर्ष आफ्नो फोन उत्पादनमा पनि कटौंती गर्ने र मीड रेन्ज फोन निर्माणमा केन्द्रीत हुने योजना सार्वजनिक गरिसकेको छ । पछिल्लो समय निर्माण भएका वा निर्माणकै क्रममा रहेका ह्वावे फोनहरुमा एन्ड्रोइडको अपरेटिङ सिस्टम र गुगलका लोकप्रिय सेवाहरु कटौती भएका छन् । 

तर ह्वावे कम्पनीले पनि आफूलाई सम्बर्द्धन गर्न अहिले हार्मोनी ओएस सफ्टवेयरको रुपमा नयाँ सामाधान सार्वजनिक गर्ने तयारी गरेको छ । ह्वावेले हार्मोनी अपरेटिङ सिस्टम धेरै वर्ष अगाडिदेखि विकास गर्दै आइरहेको हो ।

सुरुमा त यसलाई इन्टरनेट अफ थिङ्क्स अर्थात् आईओटी प्लेटफर्ममा प्रयोग गर्नका लागि विकास गरिएको थियो । तर पछि एन्ड्रोइडले सम्बन्ध विच्छेद गरेसँगै स्मार्टफोनमा समेत यसलाई प्रयोग गर्न ह्वावे कस्सिएको हो । 

हिजो मात्र ह्वावेले आफ्नो फोल्डेबल स्मार्टफोन मेट एक्स टू सार्वजनिक गरेको छ । सोही समारोहमा कम्पनीले आगामी अप्रिलदेखि आफ्नो फ्ल्यागशिप फोनमा हार्मोनी अपरेटिङ सिस्टम आउने घोषणा गरेको हो । 

त्यसो त कम्पनीले यस अपरेटिङ सिस्टमलाई यसअघि नै स्मार्ट स्पिकर, हातमा लगाउने घडी तथा अन्य उपकरणमा प्रयोग गरिसकेको छ । अब अप्रिलदेखि भने स्मार्टफोनमा पनि यसको प्रयोग हुन थाल्नेछ । 

कम्पनीले सार्वजनिक गरेको मेट एक्स टु गुगल सर्भिस फ्री एन्ड्रोइड ओएसमा बनेको फोन हो । तर अप्रिलबाट यसलाई पनि हार्मोनी ओएसमा अपग्रेड गर्न सकिने उसले बताएको छ ।

मेट एक्स टु मा मात्र होइन कम्पनीले अन्य फ्ल्यागशिप फोनका लागि पनि सोही समयदेखि ओएस अद्यावधिकको सुविधा दिने घोषणा गरेको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१