close

उद्योग वाणिज्य महासंघमा सूचना तथा सञ्चार प्रविधि विकास समिति गठन

टेकपाना टेकपाना

फागुन १२, २०७७ १८:१८

उद्योग वाणिज्य महासंघमा सूचना तथा सञ्चार प्रविधि विकास समिति गठन

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समितिका सदस्य मंगेशलाल श्रेष्ठकोे सभापतित्वमा सूचना तथा सञ्चार प्रविधि विकास समिति गठन भएको छ ।

समितिका सह-सभापतिहरूमा क्यान महासंघ नेपालका अध्यक्ष नवराज कुँवर, नेपाल केबल टेलिभिजन महासंघका अध्यक्ष सुधिर पराजुली, नेपाल विज्ञापन संघका अध्यक्ष सोमप्रसाद धिताल र नेपाल सरकारका पूर्व सहसचिव वीरेन्द मिश्र छन् ।

त्यस्तै समितिका सदस्यहरूमा नेपाल उद्योग वाणिज्य संघ काठमाडौंका दीपक भण्डारी, लोटस होल्डिङसका प्रमुख कार्यकारी निर्देशक अजित विक्रम शाह, ठमेल डटकमका संस्थापक बालकृष्ण जोशी र नेपाली युवा उद्यमी मञ्चका सुरक्षा अधिकारी छन् ।

त्यसैगरी समितिको सल्लाहकारहरूमा सूचना प्रविधि उच्चस्तरीय आयोगका पूर्व उपाध्यक्ष मनोहर भट्टराई, फ्युजमेशिनका प्रमुख कार्यकारी अधिकृत डा. समिर मास्के, वाइज्याक सोलुसनका प्रमुख कार्यकारी अधिकृत प्राध्यापक सुरेश मानन्धर र गोल्छा अर्गनाइजेशनका सञ्जय गोल्छा छन् ।

समिति विस्तार कार्यक्रमलाई सम्बोधन गर्दै महासंघका अध्यक्ष शेखर गोल्छाले महासंघले तयार गरिरहेको भिजन पेपरमा पनि सूचना तथा प्रविधिलाई उच्च प्राथमिकता दिइएकाले सो दस्तावेजलाई बढी उपयोगी बनाउन समितिबाट महत्वपूर्ण सुझावको अपेक्षा गरेको बताए ।

अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिन सक्ने यो क्षेत्रको विकासका लागि के गर्नुपर्छ त्यसका प्राथमिकताहरू तय गर्न समितिलाई सुझाव दिए । ‘सोही प्राथमिकताहरूलाई महासंघको भिजन पेपरमा पनि समावेश गरिनेछ,’ अध्यक्ष गोल्छाले भने, ‘समितिले तयार गरेको दस्तावेज तथ्य र अनुसन्धानमा आधारित र कार्यान्वयन गर्ने खालको होस् ।’

अध्यक्ष गोल्छाले जुनसुकै मुलुकको आर्थिक विकासका लागि सूचना तथा प्रविधि क्षेत्रको योगदान निकै महत्वपूर्ण हुने बताउँदै यस क्षेत्रमा पर्याप्त रोजगारी सिर्जना गर्न सकिने भएकाले समिति मार्फत मुलुकभित्र सूचना तथा प्रविधि क्षेत्रको विकासमा महासंघले महत्वपूर्ण योगदान दिन चाहेको स्पष्ट पारे ।

अध्यक्ष गोल्छाले आईसीटीको विकासमा सरकारको पहल सुस्त देखिएको, सूचना प्रविधि पार्कको सही अर्थमा उपयोग हुन नसकेको गुनासो गरे ।

कोभिडपश्चात सूचना प्रविधिको प्रयोग अझ बढ्न गएकाले अर्थतन्त्रसँग जोडिन सक्ने दूरदराजका किसान, आफ्नै पौरखमा रमाइरहेका स-साना उद्यमी व्यवसायीहरू र उनीहरूका उत्पादनलाई सिधै बजारसम्म जोड्ने प्रविधिको प्रयोग बढाउनुपर्ने सुझाव अध्यक्षको थियो ।

तत्पश्चात समिति सभापति श्रेष्ठको अध्यक्षतामा बसेको पहिलो बैठकले ईकमर्शको विस्तारको साथै राष्ट्रिय एवं अन्तर्राष्ट्रिय रुपमा आईसीटीका सम्भावनाहरूको पहिचान गरी सुझाव तयार गर्ने र आईसीटी विकास एवं विस्तारसम्बन्धी नीति, ऐन, नियम एवं सरकारी निर्णयको पुनरावलोकन गरी गर्नुपर्ने सुधार सम्बन्धमा राय सुझाव तयार गर्ने निर्णय समेत गरेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१