close

सरकारी कर्मचारीको सञ्चय कोष र पेन्सनको रकम अब सिधै खातामा जम्मा हुने

टेकपाना टेकपाना

फागुन १२, २०७७ १८:५०

सरकारी कर्मचारीको सञ्चय कोष र पेन्सनको रकम अब सिधै खातामा जम्मा हुने

काठमाडौं । अब नेपाल सरकार तथा सातै प्रदेश सरकारका निकायमा कार्यरत कर्मचारीको सञ्चयकोष, निवृत्तिभरण कोष र सापटी भुक्तानी रकम विद्युतीय माध्यमबाट तत्कालै (रियल टाइममा) व्यक्तिगत खातामा जम्मा हुने भएको छ ।

त्यसका लागि महालेखा नियन्त्रक कार्यालय र कर्मचारी सञ्चय कोषको सहकार्यमा विद्युतीय सरकारी लेखा प्रणाली सञ्चालनमा आएको छ । यसको सुरुवात मन्त्रालयका राजस्व सचिव तथा कर्मचारी सञ्चय कोषका अध्यक्ष रामशरण पुडासैनी तथा महालेखा नियन्त्रक मधुकुमार मरासिनीले संयुक्त रुपमा बुधबार गरेका छन् ।

यो प्रणालीको कार्यान्वयनबाट कारोबारको वास्तविक समयमै सञ्चय कोष, निवृत्तिभरण कोष तथा सापटी भुक्तानी हुनेछ । यसले सञ्चय कोष रकम व्यक्तिगत खातामा जम्मा नहुने र हराउने, दोहोरो प्रविष्टि हुने, घटबढ दाखिला हुने तथा एकै व्यक्तिका धेरै वटा खाता रहने लगायतका समस्या समाधान हुने उल्लेख गरिएको छ ।

शुभारम्भ कार्यक्रममा बोल्दै कोषका अध्यक्ष रामशरण पुडासैनीले यो प्रणालीको विकासले सरकारी लेखा प्रणालीको सुधारमा ईटा थप्ने काम गरेको बताए । उनले सञ्चयकोष रकम कारोबारको वास्तविक समयमै सञ्चयकर्ताको खातामा दाखिला हुने भएकाले सञ्चयकर्ताले छिटो, छरितो र प्रभावकारी सेवा प्राप्त गर्ने बताए ।

यसैगरी सोही कार्यक्रममा बोल्दै महालेखा नियन्त्रक मधुकुमार मरासिनीले यो प्रणालीले सरकारको डिजिटल गभर्नेन्स कार्यान्वयनमा ठूलो सहयोग पुग्ने बताए । सरकारको संघीय तथा प्रदेश सेवा अन्तर्गतका निजामती, प्रहरी र जंगीतर्फ करिब २ लाख ७५ हजार सञ्चयकर्ता यस प्रणालीबाट लाभान्वित हुनेछन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१