close

फ्रिक्वेन्सी अनुगमन गर्न अब गाडीसहितको आधुनिक प्रणाली, यसरी गर्छ काम

टेकपाना टेकपाना

फागुन १८, २०७७ १३:५९

फ्रिक्वेन्सी अनुगमन गर्न अब गाडीसहितको आधुनिक प्रणाली, यसरी गर्छ काम

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले करिब ८ करोड रूपैयाँकाे लागतमा फ्रिक्वेन्सी अनुगमन प्रणाली भित्र्याएको छ । गाडी सहितकाे नयाँ प्रणाली गत शुक्रबारमात्रै नेपाल भित्रिएको हाे ।

फ्रिक्वेन्सी अनुगमनलाई व्यवस्थित गर्न नयाँ प्रणाली ल्याउनेबारे प्राधिकरणले आर्थिक वर्ष ०७६/०७७ को वार्षिक कार्यक्रममा उल्लेख गरेकाे थियाे । सोही कार्यक्रम अन्तर्गत नयाँ सिस्टम गत वैशाखसम्म भित्रिनुपर्ने भएता पनि कोराना भाइरसका कारण बल्ल भित्रिएको हो ।

प्राधिकरणका निर्देशक विजयकुमार रोयका अनुसार नयाँ सिस्टमले २५ मेगाहर्ज देखि २६.५ गिगाहर्जसम्मको फ्रिक्वेन्सी अध्ययन गर्न सक्नेछ । साथै यसले कुन फ्रिक्वेन्सीमा कसले के चलाइरहेको छ, कुन ब्याण्डको फ्रिक्वेन्सी कति छ भन्ने कुराकाे जानकारी दिनेछ ।

नयाँ सिस्टमले फ्रिक्वेन्सीको डिरेक्सन (दिशा) पनि पत्ता लगाउने बताइएकाे छ । यसको अर्थ फ्रिक्वेन्सी कताबाट कता गइरहेको छ वा फ्रिक्वेन्सी कुन टावरबाट आइरहेको छ भन्ने कुराको जानकारी प्राप्त गर्न सकिने छ । राेयका अनुसार यसलाई ‘जियो लोकेटर’ भनिन्छ ।

प्राधिकरणसँग यसअघि पनि फ्रिक्वेन्सी अनुगमनका लागि आवश्क प्रविधि नभएको भने होइन । प्राधिकरणसँग हातमा बोकेर हिँड्न मिल्ने सानाे प्रविधि थियो, तर यसले सहजरूपमा फ्रिक्वेन्सी अनुगमन गर्न कठिनाई भएकाे राेय बताउँछन् ।

उनी भन्छन, ‘त्याे प्रविधिको क्षमता पनि कम थियो । हरेक पटक फ्रिक्वेन्सी अनुगमनका लागि टावर जडान गर्नुपर्ने, टावर पनि दूरसञ्चार सेवा प्रदायकले राखेको टावरको हाइटमा नपुग्ने खालका समस्या थियो ।’

त्यसैले अहिले प्राधिकरणले गाडी सहितको नयाँ सिस्टम ल्याएको उनी बताउँछन् । याे सिस्टम गाडीमै फिट गरेर राखिएको छ । गाडीभित्रै संकलन गरिएको डेटा विश्लेषण गर्न सकिन्छ । त्यस्तै टावर पनि आवश्यक अनुसार बढाउन र घटाउन मिल्छ ।

याे प्रविधि आवश्यक परेको खण्डमा जस्तोसुकै स्थानमा लिएर जान सकिने बताइएकाे छ । यसले फ्रिक्वेन्सीको अनुगमनलाई थप सहजता प्रदान गर्ने निर्देशक रोय बताउँछन् । उनका अनुसार यो गाडी सहितको सिस्टम खरिदका लागि करबाहेक ७ करोड ६५ लाख ३२ हजार रूपैयाँ खर्च भएकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४