काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले इसेवामार्फत ठगी गरेको अभियोगमा पक्राउ परेका २१ वर्षीय राहुल बुढालाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । बुढामाथि सङ्गठित रूपमा सर्वसाधारणलाई ठगी गरेको अभियोगमा गत आइतबार जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा दायर गरेको थियो ।
कञ्चनपुर घर भई हाल काठमाडौं अनामनगरमा बसोबास गर्दै आएका राहुलले भारतीय नागरिकहरूको प्रलोभनमा परेर नक्कली कम्पनी खडा गरी लाखौं रुपैयाँ ठगी गरेको अभियोग छ ।
अभियोग पत्र अनुसार गत दशैंपछि राहुल आमा बुबालाई भेट्न भारत गएका थिए । कामको सिलसिलमा लामो समयदेखि भारतको महाराष्ट्र प्रदेशको मुम्बईमा काम गर्दै आएका आमा बुबा भेट्न उनी त्यहाँ पुगेका थिए । त्यही क्रममा उनको चिनजान भारतीय नागरिक देवल विद्युत र दिनेश रमेश गुप्तासँग भयो ।
“त्यतिबेला भेटघाटका क्रममा मलाई उनीहरूले आफ्नो कम्पनी भारत, दुबई र अन्य देशमा भएको बताएका थिए,” बुढाले प्रहरीलाई बयान दिंदै भने, “उनीहरूले विभिन्न देशमा भएका आफ्ना कम्पनीबाट एन्टिभाइरस, सफ्टवेयर र एप तथा विभिन्न गेमका क्वाइन बिक्री गर्दै आइरहेको बताए ।”
नेपालमा सञ्चालित ईकमर्श प्लेटफर्म दराज र डिजिटल वालेट ईसेवा जस्ता कम्पनीसँग सम्बन्ध भएको भन्दै उनलाई प्रलोभन देखाउन थाले । उनीहरूले यही व्यापार नेपालमा पनि विस्तार गर्न चाहेको तर आफूहरू भारतीय नागरिक भएकाले कम्पनी खोल्न नमिल्ने बाध्यता सुनाए । त्यसपछि उनीहरूले राहुललाई आकर्षक तलबको प्रस्ताव राखी लोभ्याए । “तिम्रो नाममा नेपालमा कम्पनी खोली हामीलाई सञ्चालन गर्न दियौ भने हामी तिमीलाई महिनाको २० हजार रुपैयाँ तलब दिन्छौं भने उनीहरूले,” भारतीको कुरा उद्धण गर्दै बढाले अगाडि भने, “कम्पनी खोलेको भरमा घरमा बसी बसी रकम आउने भए पछि मैले ती भारतीयले भने अनुसार नेपाल आई कम्पनी दर्ता गरें ।”
कम्पनीको नाम पशुपति ग्लोबल इनोभेसन प्रालि राखी पुतलीसडकमा एउटा कोठा भाडामा लिए । कम्पनी दर्ता गरिसकेपछि पाएका कागजात र कम्पनीको नामको बैंक खाता सबै उनले राजु पाण्डे नामका व्यक्तिमार्फत ती भारतीय नागरिकलाई नै बुझाएको उनको भनाइ छ । पाण्डे भारतीय नागरिकले कागजात र बैंक खातासँग सम्बन्धित कागजात लिन नेपाल आएका थिए ।
राहुलले खोलेको बैंक अकाउन्टमा भएको कारोबारको सबै विवरण भारतीय नागरिककै फोनमा जान्थ्यो । किनभने राहुलले सबै विवरण उनीहरूलाई उपलब्ध गराइसकेका थिए । यसरी उनले सबै काम गरिसकेको एक महिनापछि २० हजार रुपैयाँ तलब पाए । त्यसपछिको अर्को महिना उनले केही पनि गर्नु परेन । महिना पुग्नासाथ उनको व्यक्तिगत खातामा टुप्लुक्क २० हजार रुपैयाँ आइपुग्यो । यो क्रम तेस्रो पटक पनि दोहोरियो । अर्थात् लगातार तीन महिनासम्म उनले निरन्तर तलब पाए ।
तर, २ वैशाख २०८२ मा उनले निरन्तर तलब पाइरहेको बैंक खाता एक्कासि बन्द भयो । उनले भारतीय नागरिकलाई आफ्नो बैंक खाता नचलेको खबर दिए । र, त्यसको कारण थाहा पाउन बैंकमा पुगे । बैंकका कर्मचारीले उनको खाता प्रहरीले रोक्का गरेको छ भनेपछि उनी छाँगाबाट खसेझै भएँ । वास्तवमा उनले विभिन्न व्यक्तिलाई झुक्याएर अनलाइन ठगी गरेको भन्दै पक्राउ गरेपछि उनले भारतीयले बिछ्याएको २० हजार तलबको जालो थाहा पाए ।
के थियो प्रहरीले जारी गरेको विज्ञप्तिमा ?
३ वैशाखमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले एक विज्ञप्ति जारी गर्दै आरोपित राहुल बुढा पक्राउ गरेको जानकारी दिएको थियो । सो विज्ञप्तिका अनुसार उनले The_Alert, AT_Alert मार्फत सर्वसाधारणलाई फिशिङ लिङ्क पठाएका थिए । त्यसरी चार हजार बढी ईसेवा प्रयोगकर्ताबाट एक करोड दुई लाख रुपैयाँ बढी ठगी गरेको प्रहरीको आरोप थियो ।
अभियोग पत्रका अनुसार राहुलले उल्लेख गरेका भारतीय नागरिकले नेपालका बल्क एसएमएस प्रदायक एटी_अलर्ट ह्याक गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । त्यसपछि उनीहरूले सर्वसाधारणको मोबाइलमा ‘तपाईंको इसेवा खाता निलम्बन हुन लागेकाले भेरिफाइ गर्न यो लिङ्क खोल्नुहोस्’ भन्दै फिशिङ लिङ्क पठाएका थिए । ती फिशिङ लिङ्कमार्फत सर्वसाधारणको वालेट र त्यसमा लिङ्क भएका बैंक अकाउन्टबाट रकम रित्याए । उनीहरूले फिशिङ लिङ्कमार्फत कसरी सर्वसाधारणका वालेट अकाउन्ट कब्जामा लिए भन्ने जान्न यहाँ क्लिक गर्न सक्नुहुन्छ ।
प्रहरीको अनुसन्धानका क्रममा यसरी फिशिङ लिङ्क पठाएर अकाउन्ट ह्याक गरी रकम चोरी गरेको भन्दै तीन जनाले निवेदन दिएका थिए । त्यसमध्ये एक पीडितको खातबाट ४४९९ रुपैयाँ, अर्का पीडितको खाताबाट ९७९० रुपैयाँ र अर्का एक प्रयोगकर्ताबाट पाँच लाख ५३ हजार रुपैयाँ ठगी गरेको भन्दै उजुरी दिएका थिए । प्रहरीले ती २२ वर्षीय युवकको नाममा रहेको कम्पनीको बैंक स्टेटमेन्ट मगाउँदा त्यसबाट ५० लाख ७५ हजार रुपैयाँ मौज्दात रहेको देखिएको छ ।
उनले कम्पनी र खाताको सञ्चालन भारतीय नागरिकलाई नै दिएको र आफूले फिशिङ लिङ्क नपठाएको दाबी गरे पनि कम्पनीको खाताबाट ८ लाख ३ हजार रुपैयाँ झिकेर देवल विद्युत शाहलाई नगदै दिएको स्वीकार गरेका छन् । यसले उनको कारोबारमा प्रत्यक्ष संलग्नता र लाभ लिएको अभियोजन पक्षको दाबी छ ।
जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंले राहुल बुढाविरुद्ध अभियोग पत्र दायर गरेको छ । उक्त पत्र जिल्ला न्यायाधिवक्ता गोविन्द प्रसाद हुमागाईंले दायर गरेका हुन् ।
उनलाई मुलुकी अपराध संहिता, २०७४ को दफा २४९ को उपदफा (१) र (२) अनुसार ठगी गरेको आरोप छ । त्यसै आधारमा सोही दफाको उपदफा (३) को खण्ड (ग) बमोजिम सात वर्षसम्म कैद सजाय माग गरिएको छ । साथै, सत्तरी हजार रुपैयाँसम्म जरिवानाको माग पनि गरिएको छ ।
त्यससँगै पीडितहरूको बिगो भरपाई गर्नुपर्ने माग गरिएको छ । त्यस्तै पशुपतिनाथ ग्लोबल इनोभेसन प्रालिको खातामा रहेको ५० लाख ७५ हजार रुपैयाँ जफत गर्न पनि अनुरोध गरिएको छ ।
अभियोग पत्रमा भारतीय नागरिकहरू देवल विद्युत शाह, दिनेश रमेश गुप्ता र कम्पनी दर्तामा सहयोग गर्ने भनिएका राजु पाण्डे लगायत अन्य संलग्न व्यक्तिको हकमा फेला परे वा पहिचान खुलेको बेला थप कारबाही गरिने उल्लेख छ ।
मंगलबार न्यायाधीश ईश्वरीप्रसाद भण्डारीको इजलासमा उक्त मुद्दाको पहिलो सुनुवाइ भएको थियो । सुनुवाइपछि अदालतले प्रतिवादी राहुल बुढालाई धरौटीमा रिहा गर्न आदेश दिएको हो ।