काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले दूरसञ्चार कम्पनीहरुको साइबर सेक्युरिटी अडिटका लागि अडिटरको रोस्टर तयार पारेको छ । प्राधिकरणले बुधबार आईएस र क्लाउड अडिटर गरी दुई विधामा ७ संस्थाको नाम सार्वजनिक गरेको हो ।
जसमा भारतका एप्टिसा इन्डिया लिमिटेड, प्राइस वाटरहाउस कुपर्स प्रालि, बीडीओ इन्डिया एलएलपी, युनाइटेड अरब इमिरेट्स (यूएई) को एस थ्री टेल इंक रहेको छन् ।
त्यस्तै नेपाली कम्पनीतर्फ एमिनेन्स वेज प्रालि, बिज सर्भ आईटी प्रालि, बीके अग्रवाल एन्ड को (क्रोवे नेपाल) काठमाडौंका साथै भारतको एभरेष्ट टेलिकम एन्ड आईटी सोलुसन्स प्रालि तथा आनन्द जांगिद एन्ड एसोसियट्स, बेंग्लोर रहेका छन् । यी सबै संस्थाले आईएस अडिट र क्लाउड अडिटर दुवैकाे काम गर्नेछन् ।
यसअघि गत साउनमा प्राधिकरणले साइबर सेक्युरिटी विनियमावली २०७७ लागु गरेको थियो । उक्त विनियमावलीअनुसार दूरसञ्चार सेवा प्रदायकले हरेक आर्थिक वर्षमा सरकारले तोकेको आईएस अडिटर तथा क्लाउण्ड अडिटरबाट अडिट गराउनुपर्ने हुन्छ ।
‘उक्त प्रावधान अनुसार अब प्राधिकरणले अडिटर तोक्नुपर्ने छ,’ प्राधिकरणका निर्देशक विजयकुमार रोयले भने, ‘त्यसका लागि आईएस र क्लाउड अडिटरका लागि रोस्टर तयार पारिएको हो ।’
रोयका अनुसार अब उल्लेखित सूचीमा दर्ता भएका अडिट फर्ममध्येबाट दूरसञ्चार कम्पनीहरुले कुनै एक अडिटरमार्फत आफ्नो सेक्युरिटी अडिट तयार गर्नुपर्ने छ ।