काठमाडौं । फेसबुक, इन्स्टाग्राम जस्ता सामाजिक सञ्जाल एप मानिसहरुका लागि मनोरञ्जन तथा समय व्यतित गर्नका साथै साथीभाइ तथा नजिकका व्यक्तिहरुसँग जोडिनका लागि निकै सहज छन् ।
साथै यससँग प्रयोगकर्ताको डेटा सुरक्षा चुनौतिको विषयको रुपमा रहेको छ । अझ त्यसमाथि महिलाहरु सामाजिक सञ्जालमा तुलनात्मक रुपमा बढी जोखिममा हुने गरेका छन् । त्यसैले आज हामीले इन्स्टाग्राममा सुरक्षित रहने टिप्स तयार पारेका छौं ।
१. अकाउन्ट प्राइभेट बनाउनुहोस्
आफ्नो इन्स्टाग्राम अकाउन्ट प्राइभेट बनाउनु भयो भने तपाईंले कसले आफ्नो पोस्ट देख्न सक्छ र कसले सक्दैन भन्ने कुरा तय गर्न सक्नुहुन्छ । प्राइभेट अकाउन्ट बनाउँदा तपाईंले कुनै फलोअरलाई ब्लक नगरिकनै हटाउन सक्नुहुन्छ ।
अकाउन्ट प्राइभेट हुँदा कुनै पनि अपरिचित प्रयोगकर्ताले तपाईंको फोटो तथा भिडियो वा रिल्स देख्न सक्दैन, जबसम्म तपाईंले त्यस्तो व्यक्तिको रिक्वेस्ट एसेप्ट गर्नुहुन्न । यसबाट तपाईं ‘शो एक्टिभिटी स्टाटस’ अफ गर्न सक्नुहुन्छ । जसले गर्दा कुनै फ्रेण्डले तपाईं अनलाइन भएको समेत थाहा पाउन सक्ने छैन ।
२. टु फ्याक्टर अथेन्टिकेसन
टु फ्याक्टर अथेन्टिकेसनको सहयोगमा तपाईं आफ्नो अकाउन्टलाई थप सुरक्षित बनाउन सक्नुहुन्छ । यदि तपाईं कुनै अपरिचित डिभाइसमा आफ्नो अकाउन्ट लगईन गर्नुहुन्छ, त्यति खेर तपाईंलाई एसएमएसमार्फत आउने कोड आवश्यक पर्दछ ।
यदि तपाईंले टु फ्याक्टर अथेन्टिकेसन एक्टिभ गरिसक्नु भएको छ भने तपाईंले नयाँ डिभाइसमा लगईन गर्दा हरेक पटक विशेष लगईन कोड आउनेछ । यसप्रकारले कुनै अज्ञात डिभाइसबाट तपाईंको इन्स्टाग्राम कसैले लगईन गर्न खोजेको अवस्थामा तपाईंले थाहा पाउन सक्नुहुन्छ ।
३. आफ्नो स्टोरी नजिकका व्यक्तिहरुसँग मात्र शेयर गर्नुहोस्
तपाईंले इन्स्टाग्राममा नजिकका व्यक्तिहरुको छुट्टै सूची बनाउन सक्नुहुन्छ र उनीहरुबीचमा मात्र आफ्नो स्टोरी शेयर गर्न सक्नुहुन्छ । तपाईंले त्यस्तो सूचीबाट कसैलाई हटाउने वा नयाँ व्यक्तिलाई जोड्ने काम पनि गर्न सक्नुहुन्छ ।
यसको अर्को राम्रो पक्ष के छ भने तपाईंले यसरी सूचीमा राख्दा वा हटाउँदा सम्बन्धित व्यक्तिलाई कुनै प्रकारको नोटिफिकेसन जाँदैन ।
४. कमेन्ट फिल्टर गर्नुहोस्
इन्स्टाग्राममा प्रयोगकर्तालाई डर धम्की वा अन्य अश्लील प्रकारका कमेन्टहरु नियन्त्रण गर्ने सुविधा पनि छ । साथै एपमा कयौं यस्ता फिचर छन्, जसले आक्रामक शब्द तथा वाक्यांशलाई हटाइदिन्छन् ।
तपाईंले चाहेको खण्डमा यस्ता शब्द तथा इमोजीको लिस्ट पनि बनाउन सक्नुहुन्छ । जसलाई तपाईं आफ्नो कमेन्टमा देख्न चाहनुहुन्न । यसका लागि तपाईंलाई पोस्टको कमेन्ट कन्ट्रोल सेक्सनमा रहेको ‘फिल्टर्स’ मा जानुपर्ने हुन्छ ।
५. तपाईंलाई कसले ट्याग वा मेन्सन गर्न पाउने, तय गर्नुहोस्
ट्याग तथा मेन्सन फिचर प्रयोग गरेर कुनै पनि डर देखाउने वा धम्की दिने वा निराश बनाउने जस्ता कामहरु पनि हुनसक्छन् । त्यसैले इन्स्टाग्रामले नयाँ कन्ट्रोल फिचर सार्वजनिक गरेको हो । जसको सहयोगमा तपाईंले ककसले आफूलाई ट्याग गर्पन तथा मेन्सन गर्न पाउने भन्ने कुरा तय गर्न सक्नुहुन्छ ।
तपाईंले यसमार्फत हरेक प्रयोगकर्ता, केवल आफले फलो गरेका व्यक्तिहरु वा जोकसैले ट्याग वा मेन्सन गर्न नपाउने मध्येका विकल्प रोज्न सक्नुहुन्छ ।
६. ब्लक गर्ने विकल्प त छँदैछ
यदि तपाईंको अकाउन्ट प्राइभेट छैन भने कसैले आफ्नो इन्स्टाग्राममा फलो, लाइक, कमेन्ट वा मेन्सन गर्न नसकोस् भन्नका लागि ब्लक गर्ने विकल्प रोज्न सक्नुहुन्छ । कसैलाई ब्लक गर्न उक्त व्यक्तिको प्रोफाइलमा जानुहोस् र माथि दायाँतर्फ कुनामा रहेको सेटिङमार्फत ब्लक युजरमा क्लिक गर्नुहोस् ।
७. प्रतिबन्धित गर्नुहोस्
तपाईं सेटिङमा प्राइभेसी ट्याबको माध्यमबाट कसैको कमेन्टमा बायाँतर्फ स्वाइप गरी रोक लगाउन सक्नुहुन्छ । साथै तपाईंले कसैको प्रोफाइललाई समेत यसैगरी ररोक लगाउन सक्नुहुन्छ । एक पटक प्रतिबन्धित गरिएपछि तपाईंका कुनै पनि पोस्टमा उक्त व्यक्तिले गरेका कमेन्ट केवल उसलाई मात्र देखिनेछन् ।
‘सि कमेन्ट’ ट्याप गरेर तपाईंले त्यस्ता कमेन्टहरु हेर्न सक्नुहुन्छ र त्यसलाई आफ्नो पोस्टमा देखिने गरी अप्रुभ गर्न वा डिलिट गर्न सक्नुहुन्छ ।
८. रिपोर्ट गर्नुहोस्
कुनै संदिग्ध वा त्यस्तै किसिमको पोस्ट देख्नुभयो र तपाईंलाई लाग्यो कि त्यो इन्स्टाग्रामको नीति निर्देशन विरुद्ध छ । त्यस्तो कमेन्टलाई तपाईंले रिपोर्ट गर्न सक्नुहुन्छ ।
इन्स्टाग्राममा कुनै पनि व्यक्तिका प्रोफाइल वा अकाउन्टबाट गरिएका पोस्ट, कमेन्ट, डीएम, लाइभ, स्टोरी, आईजीटिभी वा रिल्स जसम्मका सबै सामग्रीको बारेमा कम्पनीलाई रिपोर्ट गर्न सकिन्छ ।