काठमाडौं । एक अर्कालाई माया र सम्मानकाे वातावरण सिर्जना गर्ने उद्देश्यले टिकटकले साइबर बुलिङ र ह्यारेसमेन्टजस्ता गतिविधिलाई रोक्न नयाँ फिचर ‘फिल्टर अल कमेन्ट’ फिचर ल्याएको छ ।
याे फिचर आएसँगै अब प्रयोगकर्ताले कुन कमेन्ट आफ्नो भिडियोमुनी देखिने वा नदेखिने भनेर निर्णय गर्न सक्नेछन् । यसअघि प्रयोगकर्ताले यदि कसैले नराम्रो कमेन्ट गरेको खण्डमा त्यसलाई डिलिट गर्न सकिने सुविधा थियो ।
तर, अब भने भिडियो क्रिएटरले आफ्नो भिडियोमा आएका कमेन्टलाई अप्रुभ गर्ने/नगर्ने निर्णय गर्न सक्नेछन् ।
यसका साथै कम्पनीले अर्को नयाँ फिचर पनि सार्वजनिक गरेको छ । याे फिचरअन्तर्गत यदि तपाईं कसैको भिडियोमा नराम्रो कमेन्ट गर्दै हुनुहुन्छ भने कमेन्ट गर्नुअघि टिकटकले तपाईंलाई कमेन्टमा भएका शब्द परिवर्तन गर्न आग्रह गर्नेछ ।
‘हामीलाई थाहा छ क्रिएटरसँग जोडिने माध्यम नै कमेन्ट हो’, टिकटकले भनेको छ, ‘त्यसैले हामी टिकटकभित्रको समुदायलाई मर्यादित र सम्मानित बनाउन चाहन्छौं । नयाँ फिचरले साइबर बुलिङ र ह्यारेसमेन्टजस्ता क्रियाकलापलाई रोक्न ठूलो मद्दत गर्नेछ ।’