close

सुरु भयो दोस्रो संस्करणको आईओटी एक्स्पो, यस्ता छन् विशेष आकर्षण

टेकपाना टेकपाना

फागुन २८, २०७७ १४:४२

सुरु भयो दोस्रो संस्करणको आईओटी एक्स्पो, यस्ता छन् विशेष आकर्षण

काठमाडौं । सफ्टवेरिका कलेज अफ आईटी एण्ड ईकमर्सको आयोजनामा राजधानीमा दोस्रो संस्करणको आईओटी एक्स्पो २०२१ सुरू भएको छ । डिल्लीबजारस्थित कलेज परिसरमा सुरू भएकाे एक्स्पोमा विद्यार्थीले निर्माण एवं परिकल्पना गरेका कम्प्युटिङ सोलुसनको प्रदर्शनी गरिएको छ ।

४ दिनसम्म सञ्चालन हुने एक्स्पोमा अटोनोमस भियकल, स्मार्ट ह्विल, स्मार्ट डेलिभरी स्कुटर, स्मार्ट बगैंचा, सर्च एण्ड रेस्क्यु ड्रोन, स्मार्ट फोहर व्यवस्थापन, रोबटिक हातलगायत ३० वटा प्रोजेक्टको प्राेटाेटाइप (नमुना) राखिएको छ ।

एक्स्पाे उद्घाटनका अवसरमा बाेल्दै कलेजका कलेजका अध्यक्ष विज्ञान श्रेष्ठले आईओटी एक्स्पोमार्फत विद्यार्थीकाे प्राेजेक्टकाे प्रदर्शनी मात्रै नगरी नेपालमा याे स्तरकाे अनुसन्धान र जनशक्ति विकास गर्न सकिन्छ भनेर सन्देश दिन खाेजिएकाे बताए ।

डिजिटल नेपाल निर्माणकाे सपना साकार पार्न आईटी शिक्षाको ठूलो भूमिका हुने चर्चा गर्दै श्रेष्ठले सफ्टवेरिका कलेजले निरन्तर दक्ष जनशक्तिकाे विकासमा अग्रसरता देखाइरहेको भनाइ राखे ।

त्यस्तै कलेज प्रमुख प्रमाेद पाैडेलले आफूहरु रिसर्च र इनाेभेसनमा केन्द्रीत भइरहेकाे बताउँदै यसका लागि कलेजमा सफ्टवेरिका इनाेभेसन हब सञ्चालनमा रहेकाे जानकारी दिए । प्रदर्शनीमा राखिएका प्राेजेक्ट यही इनाेभेसन हबमार्फत निर्माण भएकाे उनले बताए ।

विद्यार्थीले तयार पारेका यी प्राेटाेटाइपलाई बजारसम्म लैजाने याेजना रहेकाे सुनाउँदै उनले यसका लागि लगानीकर्तासँग छलफल भइरहेकाे बताए । त्यस्तै उनले विद्यार्थीका युनिक प्राेजेक्टलाई कलेजले ५ लाख रूपैयाँसम्म अनुदान प्रदान गर्ने जानकारी पनि दिए ।

प्रदर्शनीमा राखिएकाे स्मार्ट सोलुसनका मोड्युल सफ्टवेरिका कलेजमा कम्प्युटिङ र साइबर सेक्युरिटी विषयमा स्नातक तहमा अध्ययनरत विद्यार्थीले तयार गरेका हुन् । त्यस्तै प्रदर्शनीमा राखिएकाे स्मार्ट सवारी नेपालमा कलेजस्तरमै पहिलो पटक निर्माण भएकाे बताइएकाे छ ।

विद्यार्थीलाई प्रयोगात्मक पढाईमा जोड दिई दक्ष जनशक्ति उत्पादन गर्ने र सर्वसाधरणलाई कम्प्युटिङ सोलुसनको अवधारणा बुझाउने उद्देश्यका साथ प्रदर्शनीको आयोजना गरिएको हाे ।

निःशुल्क प्रदर्शनी अवलाेकनकाे व्यवस्था गरिएकाे एक्स्पाेमा राज्यका नीति निर्माता, निजी क्षेत्र, विद्यार्थी, अभिभावक र आईटी क्षेत्रका जिज्ञासुका लागि उपयोगी हुने विश्वास छ ।

बेलायतको कोभेन्ट्री विश्वविद्यायलयबाट सम्बन्धन लिएर यस कलेजले स्नातक तहमा कम्प्युटिङ र इथिकल ह्याकिङ एन्ड साइबर सेक्युरिटी गरी २ प्राेग्राम सञ्चालन गरिरहेकाे छ ।

प्रदर्शनीलाई ५ हजारले अवलोकन गर्ने अपेक्षा राखिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१