close

नेपालको मोबाइल इन्टरनेट स्पिड सुध्रिँदा फिक्स बिग्रियो

टेकपाना टेकपाना

चैत २, २०७७ १६:२५

नेपालको मोबाइल इन्टरनेट स्पिड सुध्रिँदा फिक्स बिग्रियो

काठमाडौं । नेपालको मोबाइल इन्टरनेट स्पिडमा सुधार देखिँदा फिक्स इन्टरनेटको स्पिड भने झन् स्लो भएको छ । ओकलाले भर्खरैमात्र जारी गरेको जनवरी महिनाको स्पिड टेस्ट ग्लोबल इन्डेक्समा नेपाल मोबाइल इन्टरनेट तर्फ ११५ औं स्थानबाट एक स्थान सुधार गर्दै ११४ औंमा पुगेको हो ।

प्रतिवेदन अनुसार नेपालमा मोबाइल डेटाको औषत डाउनलोड स्पिड १८.४४ एमबीपीए तथा अपलोड स्पिड ११.७३ र लेटेन्सी ३४ मिलिसेकेन्ड रहेको छ । जब कि विश्वको मोबाइल इन्टरनेटको औषत डाउनलोड स्पिड ४६.७४ एमबीपीएस तथा अपलोड स्पिड १२.४९ एमबीपीएस र लेटेन्सी ३७ मिलिसेकेन्ड रहेको छ ।

कुल १४० देशमध्ये नेपाल ११४ स्थानमा रहेको छ । यस हिसाबले विश्वको सन्दर्भमा हेर्ने हो भने नेपाल मोबाइल इन्टरनेटको स्पिड राम्रो देखिँदैन । तर, सार्क मुलुकहरुमा भने नेपाल अगाडि देखिको छ ।

सार्क मुलुक मध्ये माल्दिभ्स सबैभन्दा अघि रहेको छ । माल्दिभ्स उक्त सूचीको ५४ औं स्थानमा छ । दोस्रोमा भने नेपाल छ । पाकिस्तान, श्रीलंका, भारत, बंगलादेश, अफगानिस्तान क्रमशः ११८, १२०, १३१, १३६ र १४० औ स्थानमा रहेका छन् ।

मोबाइल इन्टरनेट स्पिडको उक्त सूचीमा भुटान भने समावेश छैन । अर्को छिमेकी चीन मोबाइल डेटाको स्पिडमा विश्वकै चौंथो स्थानमा छ ।

चीनको औषत डाउनलोड स्पिड १४९.६८ एमबीपीएस तथा अपलोड स्पिड २९.६९ एमबीपीएस र लेटेन्सी २८ मिलिसेकेन्ड रहेको छ ।

मोबाइल डेटामा युनाइटेड अरब इमिरेट्स (यूएई) १८३.०३ एमबीपीएस डाउनलोड तथा २९.५० एमबीपीएस अपलोड स्पिडका साथ विश्वकै पहिलो नम्बरमा पर्न सफल भएको छ । त्यस्तै दक्षिण कोरिया दोस्रो र कतार तेस्रो स्थानमा रहेका छन् ।

मोबाइल इन्टरनेटमा एक स्थान बढोत्तरी भएता पनि नेपालको ब्रोडब्याण्ड इन्टरनेट स्पिड भने झनै खस्किएको छ । जसमा नेपाल १७५ देशमध्ये ११३ औं स्थानमा छ । यसअघि डिसेम्बर महिनामा १११ औं स्थानमा रहेको नेपाल दुई स्थान तल झरेको हो ।

ओकलाका अनुसार नेपालमा फिक्स ब्रोडब्याण्ड इन्टरनेटको औषत डाउनलोड स्पिड २४.८६ एमबीपीएस तथा अपलोड स्पिड २३.०१ एमबीपीएस र लेटेन्सी १२ मिलिसेकेन्ड रहेको छ ।

विश्वको फिक्स ब्रोडब्याण्ड इन्टरनेटको औषत डाउनलोड स्पिड ४६.९८ एमबीपीएस तथा अपलोड स्पिड ५१.९ एमबीपीएस र लेटेन्सी २० मिलिसेकेन्ड रहेको छ । ब्रोडब्याण्डमा २४७.५४ एमबीपीएस डाउनलोड तथा २२८.०८ एमबीपीएस अपलोड स्पिडका साथ सिंगापुर विश्वकै पहिलो नम्बरमा छ ।

त्यस्तै २२९.४५ एमबीपीएस डाउनलोड स्पिडका साथ हङकङ दोस्रो, २२०.५९ एमबीपीएस डाउनलोड स्पिडका साथ थाइल्याण्ड तेस्रो स्थानमा रहेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१