close

अनलाइनबाट एक महिनामै १ खर्ब ७७ करोडको कारोबार, यस्तो छ पछिल्लो तथ्यांक

टेकपाना टेकपाना

चैत ३, २०७७ २०:६

अनलाइनबाट एक महिनामै १ खर्ब ७७ करोडको कारोबार, यस्तो छ पछिल्लो तथ्यांक

काठमाडौं । नेपालमा पछिल्लो समय डिजिटल कारोबारमा रौनकता छाइरहेको छ । एकपछि अर्को गर्दै हरेक महिना निरन्तर रुपमा अनलाइनमार्फत हुने कारोबार वृद्धि भइरहेको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लाे तथ्यांङ्कअनुसार मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, क्यूआर स्क्यान, मोबाइल वालेट र कनेक्ट आईपीएसमार्फत हुने कारोबार बढेको हो ।

राष्ट्र बैंकले जारी गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार २०७७ माघ महिनामा मात्रै कनेक्ट आईपीएसबाट १ खर्ब ४ अर्ब ३९ करोडभन्दा बढीको कारोबार भएको छ ।

जुन अघिल्लो महिनाको तुलनामा ४ अर्बको हाराहारीमा बढी हो । पुस महिनामा कुल एक खर्ब ७७ करोड रुपैयाँ कारोबार भएको थियो । यो अवधिमा कुल १५ लाख ४५ हजार ४ सय १४ पटक कारोबार भएको छ ।

त्यस्तै मोबाइल बैंकिङबाट हुने कारोबार पनि उल्लेख्य वृद्धि भएको छ । माघ महिनामा मोबाइल बैंकिङमार्फत कुल ९६ लाख ७२ हजार ४ सय ७८ पटक कारोबार भएको छ । जुन पुस महिनाको तुलनामा १ लाखको हाराहारीमा बढी रहेको छ ।

यस्तै कारोबार रकम पनि ठूलो मात्रा बढेको छ । पुस महिनामा मोबाइल बैंकिङमार्फत ३३ अर्ब १५ करोड ३० लाख रुपैयाँको कारोबार भएकोमा माघ महिनामा ३८ अर्ब ५९ करोड ७० लाखभन्दा बढीको कारोबार भएको छ ।

त्यस्तै इन्टरनेट बैंकिङमार्फत हुने कारोबार तथा प्रयोग पनि बढेको छ । पुसमा ३ लाख २ हजार ५६ पटक इन्टरनेटबाट बैंकिङ कारोबार भएको थियो । तर, माघमा सो संख्या बढेर ३ लाख १० हजार ४ सय ४८ पुगेको छ । त्यस्तै कारोबार रकमसमेत वृद्धि भएको छ ।

पुसमा इन्टरनेट बैंकिङमार्फत ८ अर्ब ५० करोड ३० लाख रुपैयाँको कारोबार भएकोमा माघमा भने ९ अर्ब २२ करोड ७० लाख रुपैयाँ कारोबार भएको छ । अर्कोतर्फ क्यूआरमार्फत हुने कारोबार संख्या बढेपनि कारोबार रकम भने घटेको तथ्यांङ्कले देखाएको छ ।

राष्ट्र बैंकको तथ्यांङ्क अनुसार पुसमा क्यूआरमार्फत १ अर्ब २४ करोड ५० लाख रुपैयाँको कारोबार भएको थियो । उक्त कारोबार रकम झन्डै ५० करोडले बढेर माघमा १ अर्ब ७१ करोड २० लाख नाधेको छ । भने, कारोबार संख्यामा समेत उल्लेख्य वृद्धि भएको छ ।

पुसमा कुल ३ लाख ७२ हजार १ सय ७६ पटक कारोबार भएकोमा माघमा दुई लाखको हाराहारीमा वृद्धि हुँदै ५ लाख ३५ हजार ७ सय ९० पटक कारोबार भएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१