काठमाडौँ । बिलिङ सफ्टवेयर निर्माता कम्पनी आईएमएस सफ्टवेयरले स्वचालित भुक्तानी प्रविधि कार्यान्वयनमा ल्याएको छ । कम्पनीले हिमालयन बैंक लिमिटेडसँगको सहकार्यमा प्वाइन्ट अफ सेल (पीओएस) मसिनमा उक्त प्रविधि सञ्चालनमा ल्याएको हो ।
स्वचालित प्रविधि लागु भएपछि अब ग्राहकले काउन्टरका व्यक्तिसँग रकम जानकारी लिँदै कार्ड सटही नगरी भुक्तानी गर्न सक्ने भएका छन् । कम्पनीका प्रबन्ध निर्देशक सन्तोष ताम्राकारका अनुसार यसअघि काउन्टरमा रहेका व्यक्तिले म्यानुअल्ली भुक्तानी रकम राख्नुपर्नेमा अब स्वचालित रूपमा पीओएसमा भुक्तानी रकम र क्यूआर कोड देखिनेछ ।
ग्राहकले कार्ड राखेर वा क्यूआर स्क्यान गरेर भुक्तानी गर्न सक्ने व्यवस्था मिलाइएकाले म्यानुअल रूपमा रकम राख्दा हुने त्रुटि हट्ने उनको भनाइ छ । साथै सेवाप्रदायकले प्राप्त भुक्तानी विवरण सफ्टवेयरमा छुट्टै भरिरहनुपर्ने झन्झट पनि अन्त्य भएको छ । भुक्तानी विवरण सफ्टवेयरमा स्वचालित रूपमा अपडेट हुने व्यवस्था मिलाइएको उनले जानकारी दिए ।
हाल उक्त प्रविधि हिमालयन बैंकको पीओएस सेवा प्रयोग गर्ने हिमालयन जाभा, त्रिशारा र भाटभटेनी सुपर स्टोरमा प्रयोगमा आएको छ । ताम्राकारका अनुसार भारतमा पहिल्यै सञ्चालनमा रहेको यो प्रविधि नेपालमा पहिलोपटक लागु गरिएको हो ।
हाललाई हिमालयन बैंकसँग एक वर्षको सम्झौता गरिएको र त्यसपछि अन्य बैंक तथा संस्थालाई पनि प्रविधि उपलब्ध गराउने तयारी रहेको ताम्राकारले सुनाए ।