close

अब पोखराका होटलमा ईसेवाबाटै भुक्तानी गर्न सकिने

टेकपाना टेकपाना

चैत ४, २०७७ १७:५३

अब पोखराका होटलमा ईसेवाबाटै भुक्तानी गर्न सकिने

काठमाडौं । अब पोखराका होटलमा ईसेवाबाटै भुक्तानी गर्न सकिने भएको छ । त्यसका लागि भुक्तानी सेवा प्रदायक ईसेवा र पश्चिमाञ्चल होटल संघ पोखराबीच क्यूआर भुक्तानी तथा डिजिटल पार्टनरशिपका लागि सम्झौता भएको छ ।

योसँगै अबदेखि पोखराका होटलमा बस्दा नगद बोक्नुपर्ने झन्झटको समेत अन्त्य भएको छ । बुधबार पोखरामा एक कार्यक्रमबीच ईसेवाका प्रमुख रणनीतिक अधिकृत रोशन लामिछाने र पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचनले हस्ताक्षर गरे ।

सम्झौता अनुसार संघ र यस अन्तर्गतका सदस्य होटलले फोनपेद्वारा सञ्चालनमा ल्याइएको क्यूआर कोड सम्बन्धी भुक्तानी प्रणालीलाई प्रयोग ल्याउने छन् ।

फोनपेले ईसेवालगायत आफ्ना अन्य कम्पनीमार्फत् पोखराको पर्यटन प्रवर्द्धनमा सघाउने छन् । बुधवार भएको कार्यक्रमको उद्घाटन नेपाल राष्ट्र बैंक पोखरा प्रादेशिक कार्यालयका प्रमुख इश्वरी प्रशाद भट्टराईले गरे ।

कार्यक्रममा बोल्दै भट्टराईले जनताको तल्लो तहसम्म क्यूआर कोडजस्ता प्रविधिलाई विस्तार गर्नुपर्ने र यसका लागि राष्ट्र बैंकले समेत प्रोत्साहन गरिरहेको बताए । सस्तो, सुलभ र निःशुल्क इन्टरनेट जस्ता विषयले मात्र डिजिटल भुक्तानीलाई बढावा दिन सकिने भन्दै उनले टेलिकम कम्पनीहरूसँग छलफल भइरहेको समेत बताएका छन् ।

कार्यक्रममा बोल्दै संघका अध्यक्ष विकल तुलाचनले प्रविधिलाई अँगालेर अगाडि बढ्न सके छिटो, छरितो र पारदर्शी भुक्तानीमा हुने बताएका छन् । डिजिटल मुभमेन्टलाई अगाडि बढाउने विषयमा संघ प्रतिबद्ध रहेको भन्दै अध्यक्ष तुलाचनले क्यूआर कोडलाई बढीभन्दा बढी प्रयोग गर्न र आफ्ना ग्राहकलाई समेत त्यसका लागि प्रोत्साहन गर्न व्यवसायीसँग आग्रह गरे ।

कार्यक्रममा ईसेवाका प्रमुख रणनीतिक अधिकृत रोशन लामिछानेले ईसेवा, फोनपे, डिजिटल भुक्तानी र क्यूआर कोडको प्रयोग, महत्व तथा फाइदाका बारेमा जानकारी गराएका थिए ।

लामिछानेले संघद्धारा सञ्चालनमा ल्याइएको ‘जाउँ है पोखरा’ अभियानलाई थप अगाडि बढाउन र पोखरालाई डिजिटल शहरका रूपमा अगाडि बढाउन आफ्नो कम्पनी र समूहका तर्फबाट पूर्ण सहयोग रहने बताएका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१